एक वर्षमा १२ लाख बढी विदेशी पर्यटकको आगमन

२०८३ श्रावण १०, आईतवार

काठमाडौं : आर्थिक वर्ष २०८२/८३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १२ लाख नाघेको छ।

नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त अवधिमा १२ लाख ९ हजार ३५७ अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका छन्।

पर्यटक आगमनका आधारमा भारत नेपालको सबैभन्दा ठूलो स्रोत बजार बनेको छ। गत आर्थिक वर्षमा भारतबाट ३ लाख ११ हजार ५३१ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको करिब २५.७६ प्रतिशत हो। त्यसपछि संयुक्त राज्य अमेरिकाबाट १ लाख ११ हजार ३२५ तथा चीनबाट १ लाख ९ हजार ८९२ पर्यटक नेपाल आएका छन्।

त्यसैगरी बंगलादेशबाट ५८ हजार १६३, बेलायतबाट ५६ हजार ६४९, अष्ट्रेलियाबाट ५३ हजार १९५, श्रीलंकाबाट ४३ हजार २११, भुटानबाट ३६ हजार २८९, म्यानमारबाट ३० हजार ७३७, जर्मनीबाट २९ हजार २९६, थाइल्यान्डबाट २७ हजार २०१, जापानबाट २५ हजार ७६२ र मलेसियाबाट २५ हजार ६४० पर्यटक नेपाल आएका छन्।

महिनागत तथ्यांकअनुसार गत आर्थिक वर्षमा कात्तिक महिनामा सबैभन्दा धेरै १ लाख २४ हजार ८२९ विदेशी पर्यटक नेपाल आएका थिए। त्यसपछि चैतमा १ लाख १९ हजार ३९०, फागुनमा १ लाख १४ हजार १५२ र असोजमा १ लाख ११ हजार ७८० पर्यटकको आगमन भएको बोर्डले जनाएको छ।

नेपाल पर्यटन बोर्डले भारत र चीनलाई केन्द्रमा राखेर पर्यटन प्रवर्द्धन अभियानलाई तीव्र बनाएको जनाएको छ। समीक्षा अवधिमा भारतका पुणे, हैदरावाद, चेन्नई, मुम्बई र नयाँ दिल्ली लगायतका सहरमा १२ भन्दा बढी प्रचारात्मक कार्यक्रम सञ्चालन गरिएको थियो। साथै विभिन्न अन्तर्राष्ट्रिय बजारमा ४० भन्दा बढी पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको बोर्डले जनाएको छ।

आर्थिक वर्षको अन्तिम तीन महिनामा भारतसँग सीमा जोडिएका झापादेखि कञ्चनपुरसम्मका क्षेत्रमा क्रस–बोर्डर पर्यटन मार्ट र पर्यटन मेलाहरू सञ्चालन गरिएको थियो। बोर्डका अनुसार यस्ता कार्यक्रमले स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकको संख्या बढेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार