काठमाडौँ : थानकोट-नागढुङ्गामा निर्मित नेपालकै पहिलो सुरुङमार्ग भोलिबाट सञ्चालनमा आउँदै छ । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साललाई प्रमुख अतिथि बनाएर सुरुङमार्ग भोलि उद्घाटन गर्न लागिएको हो ।
उद्घाटन कार्यक्रम बिहान १०.२५ बजेदेखि सुरु हुने उद्घाटन कार्यक्रम मध्याह्न १२ः१५ बजेसम्म चल्ने छ । सार्वजनिक तालिका अनुसार कार्यक्रमको सुरुमा पण्डितहरुद्वारा स्वस्तिवाचनसहित पूजापाठ हुने छ । त्यसपछि औपचारिक रुपमा कार्यक्रमको सुरुवात हुने छ । पूर्वाधारमन्त्री लम्सालबाट पानस प्रज्ज्वलन गर्ने कार्यक्रम तय गरिएको छ ।
त्यसलगत्तै सडक विभागका महानिर्देशक डा. विजय जैशीले परियोजनाको बारेमा सङ्क्षिप्त जानकारी प्रस्तुत गर्ने छन् । कार्यक्रममा जापान सरकार र जाइकाको पनि विशेष उपस्थिति रहनेछ । जाइकाका अध्यक्ष डा. तानाका अकिहिको र नेपालका लागि जापानी राजदूत माएदा तोरुले मन्तव्य राख्ने छन् ।
मञ्चबाट सुरुङको पोर्टलतर्फ पैदल यात्रा गरी मुख्य उद्घाटन स्थलमा पुग्ने कार्यक्रम रहेको छ । मन्त्री लम्साल, नेपालका लागि जापानी राजदूत, जाइकाका अध्यक्ष, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकले संयुक्त रुपमा रिबन काटेर सुरुङमार्गको उद्घाटन गर्ने छन् ।
मन्त्री लम्सालबाट नेपालतर्फको शिलालेखको अनावरण तथा जापानी राजदूत र जाइकाका अध्यक्षबाट संयुक्त रुपमा जापानतर्फको स्मारक ढुङ्गाको अनावरण गर्ने कार्यक्रम छ । उद्घाटन तथा अनावरण कार्यक्रमपछि मन्त्री, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाडी चलाएर सवारी आवागमनको उद्घाटन गर्नेछन् ।





