कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

२०८३ श्रावण १२, मंगलवार

गण्डकी : कास्कीको अन्नपूर्ण गाउँपालिका–१० चानेमा गएको पहिरोका कारण पाँच परिवारका घरगोठ तथा पशुचौपायामा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार आइतबार राति पहिरो जाँदा स्थानीय प्रेम बानियाँको एकतले कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

घरभित्र रहेका अन्नपात, लत्ताकपडा तथा भाडावर्तन पुरिएका छन् । सोही ठाउँका छानबहादुर क्षेत्रीको घर पहिरोका कारण चर्किएको छ भने करिब तीन रोपनी क्षेत्रफलमा लगाइएको अन्नबालीमा क्षति पुगेको प्रहरीले जनाएको छ । स्थानीय राजमान विकको गोठमा पहिरो पस्दा एउटा पाडो मरेको र एउटा भैँसी घाइते भएको छ ।

यसैगरी, खुसीमाया विक र पूर्णबहादुर सुनारको घर पहिरोका कारण जोखिममा परेको जनाइएको छ । उक्त घटनामा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले बताए ।

घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरीचौकी घान्द्रुकबाट प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेल नेतृत्वको प्रहरी टोली उद्धारका लागि घटनास्थलमा खटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार