तेहरान : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौताका लागि कूटनीतिक प्रगति हुने ‘राम्रो सम्भावना’ रहेको बताएका छन् । अमेरिका र इरानले लगातार तेस्रो दिन पनि युद्धविराम कायम राखिरहेका बेला उनले वार्तामार्फत द्वन्द्व अन्त्य हुन सक्ने आशा व्यक्त गरेका हुन् ।
इरानमा अमेरिकी आक्रमणका १३ रातपछि र हर्मुज जलघाँटीको नाकाबन्दीलाई लिएर उत्पन्न तनावपछि शुक्रबारदेखि युद्धविराम लागू भएको थियो । ट्रम्पले एयर फोर्स वनमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूसँग ‘धेरै धैर्य’ रहेको र आगामी घटनाक्रमले सकारात्मक दिशा लिन सक्ने विश्वास व्यक्त गरेका छन्। उनले नयाँ कूटनीतिक प्रयास असफल भए अमेरिका आवश्यक परे अघिकै सैन्य रणनीतिमा फर्कन सक्ने चेतावनीसमेत दिएका छन् ।
यद्यपि, इरानले अमेरिका र आफूबीच प्रत्यक्ष वार्ता भइरहेको दाबी अस्वीकार गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले मध्यस्थकर्तामार्फत अमेरिकी सन्देश प्राप्त हुन सक्ने भए पनि हाल कुनै प्रत्यक्ष वार्तामा सहभागी नरहेको स्पष्ट पारेका छन् । ट्रम्पले भने मिचिगनमा आयोजित कार्यक्रममा इरानले अहिले सम्झौताबारे अमेरिकासँग संवाद गर्न चाहिरहेको दाबी गरेका थिए ।
ट्रम्पले युद्धका कारण अमेरिकी हतियार भण्डार घटेको भन्ने आशङ्कालाई पनि अस्वीकार गर्दै अमेरिकासँग पर्याप्त गोलाबारुद र अन्य सैन्य सामग्री रहेको बताएका छन् ।
यसैबीच, साउदी अरेबियाको रक्षा मन्त्रालयले इराकस्थित तेल पूर्वाधारलाई लक्षित गरी इरानसँग आबद्ध समूहबाट प्रहार गरिएका केही ड्रोन रोकेको जनाएको छ । घटनाको जिम्मेवारी कुनै समूहले नलिए पनि रियादले बगदादलाई आफ्नो भूमिबाट यस्ता आक्रमण हुन नदिन आग्रह गरेको छ । इराकका प्रधानमन्त्री अली अल–जैदीले घटनाबारे अनुसन्धान गर्न निर्देशन दिएका छन् ।
मध्यपूर्वमा शान्ति स्थापनाका लागि मध्यस्थता गर्दै आएको पाकिस्तानले पनि ड्रोन आक्रमणको निन्दा गर्दै यसले क्षेत्रीय शान्ति र स्थिरतामा गम्भीर खतरा उत्पन्न गरेको जनाएको छ । यमनका इरान समर्थित हुथी विद्रोहीले साउदीको तेल पूर्वाधारमा ड्रोन आक्रमण गरेको दाबी गरेका छन्, तर रियादले त्यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।
उता, इजरायली सेनाले जोर्डन सीमानजिक दुईवटा ड्रोन खसालेको र ती कहाँबाट प्रक्षेपण गरिएका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।
युद्धविराम कायम भएसँगै सोमबार विश्व सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ भने तेलको मूल्य घटेको छ । अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य करिब छ प्रतिशतले घटेर प्रतिब्यारेल ८६ अमेरिकी डलरमा झरेको छ । यसलाई खाडी क्षेत्रको ढुवानी तथा ऊर्जा उद्योगका लागि राहतका रूपमा हेरिएको छ ।
यद्यपि, हर्मुज जलघाँटीको नियन्त्रण अझै पनि शान्ति प्रक्रियाको प्रमुख विवादका रूपमा रहेको छ । इरानले उक्त सामुद्रिक मार्गको व्यवस्थापन आफ्नो अधिकारभित्र पर्ने अडान दोहो¥याएको छ भने रिभोलुसनरी गाड्र्सले निर्धारित मार्गबाहिर चलेको आरोप लगाउँदै केही जहाज रोकेको जनाएको छ ।
इरानले ओमानसँग समुद्री मार्ग सुरक्षित बनाउन साझा कार्यविधिबारे छलफल भएको जानकारी दिएको छ । तर बाकाईले उक्त वार्तामा अमेरिका संलग्न नरहेको स्पष्ट पार्दै वासिङ्टनको व्यवहारलाई ‘कुनै नियम वा कानून नमान्ने माफिया गिरोहजस्तै’ भएको आरोप लगाएका छन् । रासस





