घुस लिने–दिने दुवैलाई जेल हाल्छु : गृहमन्त्री श्रेष्ठ

२०८० जेष्ठ २१, आईतवार

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमितताको घटनामा नेकपा माओवादी केन्द्रकै कोही नेता परे पनि उन्मुक्ति नपाउने बताएका छन् ।

स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलालाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै उनले सुशासन स्थापना गर्न कुनै सम्झौता नहुने बताए ।

‘कुन पार्टीको को पर्छ मलाई थाहा छैन, आज कुनै एउटा पार्टीको होला, भोलि मेरै पार्टीको, माओवादीको कोही पर्ला, भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने आश्चर्य नमान्नुहोला, त्यो छुट दिइने छैन,’ उपप्रधानमन्त्री श्रेष्ठले भने । आफूले नियमभन्दा बाहिर गएर कुनै काम नगर्ने र सरुवा, बढुवाका लागि कसैको भनसुन पनि नमान्ने उनले बताए ।

‘हामीले संस्थागत र प्रणालीगत रूपमा काम गर्न जरुरी छ । खबरदार ! अब कोही कसैले सरुवा, बढुवाको निम्ति म भन्दिन्छु भनेर नागरिक झुक्याउँछ भने रकम दिनेलाई पनि र लिनेलाई पनि जेल हाल्छु,’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।

उनले आफू सयौं पटक चुनाव हार्न तयार रहेको तर निष्पक्षता र संवैधानिक मूल्य मान्यता बिर्सिन नसक्ने उद्घोष गरे । रकमको लोभमा आफ्नै नागरिकलाई शरणार्थी बनाउने घृणित प्रकरणमा राज्यको अनुसन्धान खेर नजाने पनि उनले बताए । आफू गृहमा आएपछि सुराकी नामको मासिक लाखौं खर्च र राष्ट्रिय परिचयपत्रको डाटा सम्बन्धि काम विदेशी कम्पनीलाई दिने तयारी खारेज भइसकेको र मीटरव्याजीलाई कारवाही गर्ने प्रक्रिया आयोगमार्फत अगाडि बढिसकेको उनले बताए ।

‘तर १–२ वटा राम्रा काम गरेका छौं भनेर विश्राम गर्ने पक्षमा छैनौं,’ उपप्रधानमन्त्री श्रेष्ठले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार