काठमाडौँ : क्रिकेट खेलाडी सन्दीप लामिछाने अभ्यास खेलका लागि दक्षिण अफ्रिका गएका छन्। दक्षिण अफ्रिकामा अभ्यास म्याच खेल्न त्यहाँ पुगिसकेको राष्ट्रिय टोलीमा सहभागी हुन सन्दीप सोमबार साँझ त्यसतर्फ लागेका हुन्।
जिल्ला अदालत काठमाडौंले उनीविरुद्धको बलात्कारसम्बन्धी मुद्दाको पेसी एकैचोटि आगामी असार २९ गतेका लागि तोकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई दक्षिण अफ्रिका पठाएको हो।
दक्षिण अफ्रिकामा अभ्यास म्याच खेल्न राष्ट्रिय टोलीका अरू सदस्य भने मंगलबार नै त्यसतर्फ गइसकेका छन्। दक्षिण अफ्रिकामा नेपालले चारवटा अभ्यास खेल खेल्नेछ। त्यसपछि टोली त्यहीँबाट विश्वकपको ग्लोबल छनोट खेलमा सहभागी हुनका लागि जिम्बाब्वे उड्नेछ।
सन्दीप दक्षिण अफ्रिकाको अभ्यास म्याच र जिम्बाब्वेमा हुने छनोट खेलमा पनि सहभागी हुन पाउने छन्।





