काठमाडौँ : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी ओलीलाई समाजवादी मोर्चादेखि नतर्सिन आग्रह गरेका छन् । ओलीप्रति सङ्केत गर्दै उनले केही दिनदेखि मिडियामा बरबराउन थालेको भन्दै मोर्चासँग तर्सिन नपर्ने बताएका हुन् । सोमबार काठमाडौँको राष्ट्रियसभा गृहमा आयोजित ‘समाजवादी मोर्चा, नेपाल’ घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मोर्चा कसैका विरुद्ध लक्षित नरहेको पटकपटक दोहोर्याए ।
परिवर्तनका मुद्दालाई अगाडि बढाउने, राष्ट्र निर्माणलाई अगाडि बढाउने र मुलुकमा देखा परेका समस्यालाई हल गर्दै अगाडि बढ्नका लागि मोर्चा गठन गरिएको उनको तर्क थियो । अध्यक्ष यादवले प्रतिगमनका पक्षधर, संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध उभिनेहरूका विरुद्धमा भने मोर्चाले संघर्ष गर्ने चेतावनी समेत दिए ।
उनले भने, ‘यहाँ मोर्चा, गठबन्धन बन्दै, भत्किँदै गएकाले मान्छेलाई अलिकति क्या हो, कसो हो ? भन्ने लागेको पनि हुन सक्दछ । त्यो आशङ्का हुन पनि सक्छ । त्यसलाई हामीले व्यवहारबाट गलत साबित गर्दै यो मोर्चा निश्चित उद्देश्यका लागि निर्माण गरिएको मोर्चा हो । र, यसलाई सबैले सहयोग गर्नु हुनेछ । र, यसले आफ्नो लक्ष्यतर्फ अगाडि बढ्ने कुरामा मत ढुक्क छु । हाम्रो प्रयास रहनेछ । र, यो गठबन्धनले, मोर्चाले गर्दा कसैलाई तर्सिनुपर्ने जरुरी छैन । हामी परिवर्तनका मुद्दालाई अगाडि बढाउने, राष्ट्र निर्माणलाई अगाडि बढाउने र मुलुकमा देखा परेका समस्यालाई हल गर्दै अगाडि बढ्न चाहन्छौँ । यो कसैको विरुद्धमा लक्षित छैन । त्यस कारणले कोही नतर्सिए हुन्छ । धेरै मान्छेहरू अहिले नै केही साथीहरू यसो घोषणा हुनुभन्दा अगाडि नै बरबराउन थाल्नुभएको थियो । मिडियाहरू बरबराएको पढ्न, सुन्न पाइयो । त्यस्तो नबरबराउँदा हुन्छ । हामी देशको जनताको हितका लागि, मुलुकको अग्रगामी परिवर्तनका लागि सहकार्य, परस्पर सहयोगको आधारमा अगाडि बढ्छौँ । तर, प्रतिगमनकारी शक्तिहरू, जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई, विगतका आन्दोलनका संघर्ष र बलिदानलाई समाप्त पार्ने खेल खेलेका छन् । निश्चित रूपमा तिनको विरुद्धमा यो मोर्चा उभिनेछ । आवश्यक परे संघर्ष पनि गर्नेछ ।’





