काठमाडौं : नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कांग्रेस र नेकपा एमालेको सरकार तत्काल बन्ने अवस्था नरहेको बताएका छन् ।
कांग्रेस र एमालेको समीकरण बनेर वर्तमान सरकारको विकल्पबारे विभिन्न प्रसंगहरु चलिरहेका बेला नेता विश्वकर्माको उक्त भनाइ आएको हो । ‘कांग्रेस एमालेको तत्काल सरकार बन्ने अवस्था देखिदैन,’ विश्वकर्माले भने, ‘एमालेसँग मिलेर सरकार बनाउनुपर्ने अहिले कुनै कारण छैन । कांग्रेसले पाउने जति मन्त्रालय पाइरहेकै छ ।’
सभापति शेरबहादुर देउवा निकट नेता विश्वकर्माले पार्टीको घोषित निर्णय अनुसार संवाद नभएको बताए । ‘फुर्सद भएका र मन्त्री हुन नपाएकाहरु त लागिहाल्छन् नि । कोही लागेको भएपनि पार्टीबाट निर्णय भएर लागेका होइनन्,’ विश्वकर्माले भने ।
सत्ता समीकरण फेरबदलका लागि देउवाको बसाइँ लम्बिएको भनाइमा सत्यता नरहेको विश्वकर्मा बताए । स्वास्थ्य उपचारका लागि नै थप समय बस्न परेको आफूले जानकारी उनले बताए ।





