कुहिँदै लाखौँ मूल्यका सालका काठ

२०८० श्रावण ३१, बुधबार

नुवाकोट : वन पैदावारसम्बन्धी कसुर तथा मुद्दामा कानुनी समस्याका कारण समयमै न्यायिक निरूपण तथा छिनोफानो नहुँदा नुवाकोटमा लाखौँ मूल्यका सालका काठ कुहिएका छन् भने ढुवानीका साधन कवाडी बन्दै गएका छन् ।

सरकारी निर्णयका कारण कटान, मुछान र वन व्यवस्थापनको कामसमेत प्रभावित हुँदा वन क्षेत्रको गुणस्तरमा समेत असर परेको छ । सदुपयोग गर्न नपाउने भएपछि वनमा रहेका बुढा र सुकेका काठ सङ्कलन गर्न नसक्दा वनको गुणस्तरमा ह्रास हुँदै गएको छ । वन ऐन, २०७६ अनुसार वन पैदावारसम्बन्धी मुद्दामा देखिएको क्षेत्राधिकारसम्बन्धी विरोधाभाषका कारण अनुसन्धान तथा फैसलामा समस्या हुँदा प्रदेश सरकार मातहत रहेको डिभिजन वन कार्यालय नुवाकोटमा दर्ता भएका वन पैदावारसम्बन्धी मुद्दा लामो समयदेखि थाती रहेको हो ।

लामो समयदेखि मुद्दा थाती रहँदा कार्यालय परिसरमा रहेका सयौँ क्युफिट सालको काठ एवं वन पैदावार कुहिने अवस्थामा रहेको छ । डिभिजन वन कार्यालय नुवाकोटका रेन्जर राजकुमार यादवले ढुवानीका साधनसमेत कवाडी बन्दै गएको बताए । प्रदेश सरकार अन्तर्गत रहेको डिभिजन वन कार्यालय नुवाकोटमा दर्ता भएको वन पैदावारसम्बन्धी १४ वटा मुद्दाको अनुसन्धान तथा न्यायिक निरूपणमा समस्या भएको हो । 

वनमा कटान भएका सालका काठ धमिरा लागेर नष्ट भइरहँदा सरकारले भने विदेशबाट आयात हुने काठको व्यापारलाई प्रोत्साहन गरिरहेको गुनासो वन क्षेत्रका सरोकारवालाको छ । विदुर नगरपालिका वडा नं. १२ का राजेन्द्र रिमालले वनमा कटान भइसकेका सालका काठको बिक्री वितरण खुला गर्नुपर्ने बताए  । सरकारले सामुदायिक वन फँडानीलाई नियन्त्रण गर्ने उद्देश्यले करिब एक दशकअघिदेखि अवैध रुख कटान र सालको काठ ओसारपसारमा पूर्ण रोक लगाएको छ । योसँगै डिभिजन वन कार्यालय नुवाकोटले विभिन्न समयमा पक्राउ तथा नियन्त्रणमा लिएका सालका गोलिया र तयारीसहित सयौँ क्युफिट काठमा धुलिया लागेको छ । गोरखापत्र दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार