काठमाडौं : बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसँग पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बयान लिएको छ। सीआईबीले आइतबार राति नेपालसँग बयान लिएको हो।
सोही प्रकरणमा सीआईबीले आइतबार राति नै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग पनि बयान लिएको छ। ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणका बारेमा जानकारी गराउन उनले आफू सीआईबी पुगेर घटनाबारे जानकारी दिएको जानकारी दिएका छन्।
चार चरणमा गरेर हत्याइएको १४३ रोपनी जग्गाको अनुसन्धानका लागि सीआईबीले चार जना डीएसपीको कमाण्डमा अनुसन्धान टोली बनाएर अनुसन्धान गरिरहेको छ। सीआईबीले अहिलेसम्म पक्राउ परेकाहरुको बयान गराइसकेको छ भने पक्राउ पूर्जी जारी भएकाहरुको हकमा खोजतलास गरिरहेको छ। सर्वोच्चका आदेशपछि नीतिगत निर्णय गर्नेहरुमाथि पनि अनुसन्धान अघि बढाउने तयारीमा सीआईबी छ।
सरकारी जग्गा व्यक्तिको बनाउँदा सरकारी कागजात तथा दस्तखत किर्ते भएको प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ। संगठित रुपमा नै किर्ते भएको कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ। किर्ते र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न ६० दिनको समय हुन्छ। ६० दिनको समयावधि सकिनै लाग्दा सीआईबीले अनुसन्धान प्रक्रिया टुंग्याएर प्रतिवेदन लेखन थालेको छ।





