जुम्लामा बाढीले बगाएर एक महिला बेपत्ता

२०८० भाद्र ४, सोमबार

जुम्ला : जुम्लामा बाढीले बगाएर एक महिला बेपत्ता भएकी छन् । पातारासी गाउँपालिका- ५ को माथि लोर्पा गाउँकी ३५ वर्षीया पन्नीकली बुढा बेपत्ता भएकी हुन् ।

घट्ट पिस्ने क्रममा घट्टेकुलोमै बाढी आउँदा घट्टसँगै बुढालाई पनि बगाएको जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए ।

डिल्लीचौर प्रहरी चौकी इन्चार्ज बुद्धि साउदका अनुसार बाढीले पाँचवटा घट्टसमेत बगाएको छ । बाढीका कारण माथि लोर्पा र तलिलोर्पा गाउँ जोखिममा परेको पातारासी गाउँपालिकाका कर्मचारी दानबहादुर विष्टले बताए ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले बेपत्ता भएकी बुढाको खोजी तथा उद्धारको लागि प्रहरी टोली परिचालन गरिएको बताएका छन् । तर निरन्तर वर्षा भइरहेको र बाढीको बहाव नरोकिएकाले खोजी कार्यमा बाधा उत्पन्न भइरहेको उनले बताए ।

पातारासीको बाढीले जिल्लाको तातोपानी र तिलाका झण्डै एक दर्जनभन्दा बढी बस्ती जोखिममा परेका छन् । नदी छेउमा रहेका बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउनको लागि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार