काठमाडौं : काठमाडौंबाट पोखरा जाँदै गरेको बस बुधबार (आज) बिहान त्रिशूली नदीमा खस्दा कम्तीमा पनि ८ जना यात्रुको ज्यान गएको छ। दुर्घटनापछि ६ जनाको घटनास्थलमै र अन्य २ जनाको गजुरीस्थित अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। बसमा कम्तीमा पनि २५ देखि ३० जना सवार रहेको बताइएको छ।
दुर्घटनापछि घाइते भएका अन्य १५ जनालाई काठमाडौंको शिक्षण अस्पताल पठाइएको जनाएको छ । प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको उक्त बस धादिङको गजुरी गाउँपालिका–२, स्थित चालिसेबाट त्रिशूली नदीमा खसेको हो। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेको बस बिहान सवा ११ बजेतिर नदीमा खसेको थियो।





