काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भदौ ११ गतेका लागि तय भएको संसदीय समितिको सभापतिको चुनावमा उम्मेदवारी दिने निर्णय गरेको छ।
शुक्रबार बसेको संसदीय दलको बैठकले उम्मेदवारी दिने निर्णय गर्दै आजको मितिबाट त्यसका लागि गृहकार्य थाल्ने निर्णय गरेको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए।
राष्ट्रियसभा र प्रतिनिधिसभा गरी १२ वटा संसदीय समितिमा सभापति चयन गर्न बाँकी छ। साउन २२ गते कांग्रेस, एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र जनमत पार्टीले सभापतिको भागवन्डा गरेका थिए।
६ दलको सो कदमप्रति असन्तुष्ट रास्वपाले छुट्टै उम्मेदवार उठाउन लागेको हो। अर्यालका अनुसार कतिवटा समितिमा उम्मेदवारी दिने भन्ने निर्णय भइसकेको छैन।





