काठमाडौँ : हाल देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रही काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
साथै यस क्रममा बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/ चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।महाशाखाले आगामी २४ घण्टा (सोमबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ– कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, मधेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन्/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। यी क्षेत्रबाट बहने नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षेतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।





