नेपाल एसिया कपबाट बाहिरियो

२०८० भाद्र १९, मंगलवार

काठमाडौँ : नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । सोमबार राति सम्पन्न समूह चरणको दोस्रो खेलमा नेपाल भारतसँग १० विकेटले पराजित बनेसँगै प्रतियोगिताबाटै बाहिरिएको हो । पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो ।

भारतले १७ बल बाँकी हुँदै लक्ष्य भेट्टायो । भारतका लागि रोहित शर्माले ७४ र  शुभमन​गिलले ६७ रनको योगदान दिए ।  

वर्षाका कारण ५० ओभरको खेल २३ ओभरमा झारिएसँगै भारतले १४५ रनको नयाँ टार्गेट पाएको थियो। नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याउने क्रममा भारतले १७ रन जोडेपछि वर्षाले खेल रोकिएको थियो। त्यसपछि  ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १० विकेटले हराएको हो ।

यसअघि नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो ।  श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २३० रनको योगफल बनाएको हो । 

नेपालका लागि सुरुआती ब्याट्सम्यान आसिफ शेखले सर्वाधिक ५८ रनको योगदान दिए । उनले ९७ बलमा ८ चौकाको मद्दतमा सर्वाधिक ५८ रनको योगदान दिए । उनी एसिया कपमा तथा भारत विरूद्धको खेलमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीसमेत बने ।

त्यसैगरी अर्का ब्याट्सम्यान कुशल भुर्तेल ३८ रन बनाएर आउट भए । उनले आसिफ शेखसँग पहिलो विकेटका लागि नौ दशमलव पाँच ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । भुर्तेल पेभेलियन फर्किएपछि नेपालले लगातार विकेट गुमाउन पुग्यो । 

कप्तान रोहित पौडेल भारतका रवीन्द्र जडेजाको बलमा पाँच रनमा आउट भए । कुशल मल्ल चौथो विकेटको रूपमा दुई रनमै आउट भए । भीम सार्की पनि सात रनमा भारतका जडेजाको बलमा १६ ओभरमा बोल्ड हुन पुगे । त्यसैगरी छैटौँ विकेटको रूपमा गुल्सन झा २३ रन बनाउँदै पेभेलियन फर्किए । उनले ३५ बलमा ३ चौकाको मद्दतमा २३ रन बनाएका थिए । 

सातौँ विकेटका रूपमा नेपालले दीपेन्द्र सिंह ऐरीलाई गुमायो । उनी खेलको ४१ दशमलव एक ओभरमा २९ रन जोड्दै आउट भए । उनले २५ बलमा तीन चौकाको मद्दतमा २९ रन बनाएका हुन् । नेपालले आठौँ विकेटको रूपमा सोमपाल कामीलाई गुमायो । सोमपाललाई भारतका मोहम्मद शामीले आउट गराएका हुन् । उनले ५६ बलमा दुई छक्का र एक चौकाको मद्दतमा ४८ रन बनाए । 

त्यसैगरी खेलको ४७ दशमलव चार ओरभमा नवौँ विकेटको रूपमा सन्दीप लामिछाने आउट भए । उनले १७ बल खेल्दै नौ रन बनाए । त्यस्तै ललित राजवंशी शून्य रनमा आउट हुँदा करण केसी दुई रनमा अविजित रहे । यससँगै समूह ‘ए’ बाट पाकिस्तान र भारत ‘सुपर फोर’ मा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार