उर्लाबारी : युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले काङ्ग्रेसको केन्द्रीय नेतृत्वको अकर्मन्यताका कारण कोशी प्रदेशमा ८ जना सांसदले बिद्रोह गरेको बताएका छन् ।
मोरङको बेलबारीमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा मन्त्रीले सो कुरा बताएका हुन् । केन्द्रीय नेतृत्वले पार्टीलाई सधैं लिलामीमा राखेर कार्यकर्तालाई दास बनाउन खोजेको बताउँदै पार्टीले संस्थागत निर्णय गरेर अघि नबढ्ने हो भने कोशी प्रदशको बिद्रोह देशभर फैलिने उनले बताए ।
मन्त्री लिम्बुले भने, “नेतृत्व फरक मत राख्नेसँग बहस गर्न चाहँदैन । छलफल नगरी एकलौटी निर्णय गर्दा पार्टीमा समस्या आएको हो ।” नेपाली काङ्ग्रेस मोरङका सभापति समेत रहनुभएका मन्त्री लिम्बूले बिधानमा पार्टीका केन्द्रीय सदस्यले वडाबाट चुनाव जितेर जाने ब्यवस्था नभएसम्म नेतृत्व नसच्चिने बताए ।
उनले आगामी मङ्सिर १३–१८ मा हुने महासमिति बैठकले बिधान संसोधन गर्ने दाबी गर्दै पार्टीलाई सभापतीय प्रणालीमा लानुपर्ने बताए । सबै पदाधिकारी निर्वाचित हुने ब्यवस्थाले सभापति कमजोर भएको बताउँदै उनले काङ्ग्रेसलाई पुरानै संरचनामा फर्काउनुपर्नेमा जोड दिए । गुटबन्दी र आरोप प्रत्यारोपले काङ्ग्रेस दिशाहिन भएको उल्लेख गर्दै उहाँले काङ्ग्रेसमा जान्ने बुझ्नेको कदर हुन छाडेको टिप्पणी गरे ।
काङ्ग्रेस बेलबारी –४ का वडा सभापति इन्द्रबहादुर राईको सभापतित्वमा भएको कार्यक्रममा काङ्ग्रेस भोजपुरका सभापति एवम् कोशी प्रदेशका सांसद विनोदकुमार वान्तवा र मोरङ –३ का क्षेत्रीय सचिव राजेन्द्र अधिकारीले धारणा राखे ।





