माटोका सामग्रीले पायो बजार

२०८० कार्तिक ५, आईतवार

घोराही : दाङमा माटोका सामग्री बनाउने कुमाल समुदायलाई प्रोत्साहन गर्ने उद्देश्यले गढवा गाउँपालिकाले माटोका सामग्री बजारीकरण गरिदिन थालेको छ । गढवा गाउँपालिकालाई सेरामिकको हबका रूपमा विकास गर्ने उद्देश्य अनुसार पालिकाभित्र उत्पादन भएका माटोका सामग्रीको पालिकाले बजारीकरण गर्न सुरु गरेको हो ।

पलिकाका विभिन्न ठाउँमा माटोका सामग्री उत्पादन हुने तर बिक्रीका लागि समस्या भइरहेका बेला पालिकाले बजारीकरणमा सहयोग गरिदिएपछि कुमाल समुदाय खुसी भएका छन् । आफैँ उत्पादन गर्ने र बिव्रmीका लागि आफैँ लैजानु पर्दा खर्च बढ्ने समस्या भइरहेका बेला पालिकाले बजारसम्म लगिदिने भएपछि सहज भएको गढवा गाउँपालिका–३ निवासी रामलाल थारू कुमाल बताउछन्  ।

पुख्र्यौली पेसाका रूपमा माटाका भाँडा बनाउँदै आउनुभएका उनले भने, “हाम्रो मुख्य पेसा नै माटोका भाँडा बनाउने हो । तर बनाउनेदेखि बजारसम्म बिक्रीका लागि लैजानु पर्दा लागत धेरै लाग्ने गरेको थियो । जसले गर्दा आर्थिक रूपमा कमजोर परिवारले गर्न सक्ने अवस्था थिएन तर अहिले पालिकाले निःशुल्क रूपमा बजारसम्म लगिदिन थालेपछि सजिलो भएको छ ।”

स्थानीय उत्पादनका रूपमा रहेका माटोका भाँडालाई बजारीकरणका लागि गढवा गाउँपालिकाले सहयोग गरिदिएपछि आफूलाई हौसला बढेको खैरा निवासी राजबहादुर थारू कुमाल बताउछन्। माटोका सामग्रीको बजारीकरण ठुलो समस्याका रूपमा रहेको बेला पालिकाले सहयोग गरिदिएपछि काममा सहजतासँगै उत्पादनमा समेत वृद्धि हुने उनी बताउछन्  ।

उहाँले भन्नुभयो, “पहिले माटोका भाँडा बनाउनेसँगै बिक्रीका लागि बजारसम्म लैजान समस्या हुने गरेको थियो । अहिले हामीले बनाएका सामग्री पालिकाले गाडीबाट बजारसम्म लगिदिन्छ । व्यवसायीलाई घरमै सामग्री पु-याउँदा मूल्यसमेत बढी दिने गरेका छन् ।” उनका अनुसार पालिकाले गाडीका माध्यमबाट देउखुरीका लमही, भालुवाङ, घोराही, तुलसीपुरलगायतका बजारमा बिक्रीका लागि लैजाने गरेको छ ।

गढवा गाउँपालिकालाई सेरामिक हबका रूपमा विकास गर्ने उद्देश्य अनुसार कुमाल समुदायले उत्पादन गरेका माटोका सामग्री बजारीकरण गरिदिएको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताए । माटोबाट बनेका गमला, खुत्रुके, पाला, गमलालगायतका सामग्री बजारीकरणमा सहयोग गरेको भन्दै उनले यसबाट उत्पादनमा वृद्धिसँगै आम्दानीसमेत बढ्ने अपेक्षा लिइएको बताए । त्यसका लागि गाउँपालिकाले कृषि एम्बुलेन्ससमेत सुरुवात गरेको गाउँपालिका अध्यक्ष पोख्रेलले बताउनुभयो । उनले भने , “माटोका सामग्रीसँगै पालिकाभित्रका किसानले उत्पादन गरेका तरकारी, दुधलगायतका सामग्री कृषि एम्बुलेन्सका माध्यमबाट बजारीकरण गर्ने र किसानको आर्थिक अवस्थालाई सुधार गर्ने लक्ष्य रहेका छ ।”

गाउँपालिकाले ललितकला प्रज्ञा–प्रतिष्ठानसँगको संयुक्त पहलमा परम्परागत सिपलाई आधुनिकीकरण गर्ने र गढवा गाउँपालिकालाई सेरामिकको हबका रूपमा विकास गर्ने उद्देश्य अनुसार पालिकाले योजनाबद्ध रूपमा कुमाल समुदायको माटोको भाँडा बनाउने पेसालाई व्यवस्थित, प्रविधिमैत्री बनाउनुका साथै उत्पादन भएका सामग्रीको बजारीकरणमा सहयोग गर्न थालेको अध्यक्ष पोख्रेल बताउनुहुन्छ । गढवा गाउँपालिकाका खैरा, पत्रिङ्गा र गढवा गाउँका कुमाल समुदाय माटाका भाँडा बनाउने काममा संलग्न रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार