घोराही : ७० वर्षीया लालकुमारी पुरीको रोल्पाको गजुलमा घर र परिवार छ । घरमा छोराबुहारीलगायतका रहेका छन् । आर्थिक रुपमा मध्यम परिवार राम्रै थियो । तर छ वर्षअघि लालकुमारी श्रीमानको मृत्यु भएपछि एक्लो जस्तै भए ।
श्रीमान बितेको पीडामा रहनुभएको उनलाई छोराबुहारीले बेवास्था गर्न थालेको महसुस भयो । आफ्नै सहाराका रुपमा रहेका छोराबुहारीबाट विभेद भएपछि पाँचवर्ष अघि घोराही उपमहानगरपालिका–१६ तेरौटेस्थीत ज्येष्ठ नागरिक सरोकार केन्द्रद्वारा सञ्चालित वृद्धआश्रममा आएका लालकुमारी त्यसयता घर फर्किएका छैनन् ।
वृद्धआश्रममा आफु जस्तै ज्येष्ठ नागरिकहरुसँग बस्दै आएका उनका लागि वृद्धआश्रम घर भएकोे छ । तर आफ्नो विगतको याद जोडिएको घर जस्तो पूर्ण भने उहाँलाई वृद्धाश्रम लाग्दैन । चाडपर्व आउँदा घरसँगै आफन्तीहरुका सम्झाना आउँछ भन्नुहुन्छ, ‘चाडपर्वको समयमा घरमा छोराबुहारी, नातीलगायतका आफन्तीहरु जम्मा हुँदा छुट्टै आनन्द हुन्थ्यो, घर उज्यालो भएको अनुभूति हुन्थ्यो ।’
गाउँघर तथा आफन्तीहरुको अन्य समयमा सम्झना नआउने भए पनि लालकुमारीलाई चाडपर्वको समयमा घर र सन्तानको याद आउने गरेको बताउँनुहुन्छ । चाडपर्वको समयमा घर परिवार र आफना आफन्तको याद आए पनि घर फर्किन मन नलाग्ने गरेको उहाँ बताउछन् । जान मन नलाग्नुको कारण घरपरिवारकै बेवास्था भएको उहाँ बताउँछन् । ‘घर परिवारमा राम्रो भएको भए यहाँ आउनु पर्ने थिएनन्, यहाँ आएर बसेपछि अहिले यहि वृद्धआश्रम घर जस्तै भएको छ’, लालकुमारीले भने, ‘सुख, दुःख जेजस्तो भए पनि यहि ठिक छ, म पनि खुसी छु । अहिले तँ घर र परिवारको याद आएपनि जान मन लाग्दैन ।’ गतवर्षको दसैंमा छोरा र नातिनी वृद्धआश्रममै आएर टिकालगाएको भन्दै उहाँले त्यसपछि छोरा र नातिनीसँग आफ्नो सम्पर्क नभएको बताउँछन् ।
घोराही उपमहानगरपालिका १३ कलमघारी निवासी करिव ६५ वर्षीय श्रीधर सुनार पनि वृद्धआश्रममै बस्दै आएको छ । श्रीमति छोराछोरी कोही नभएकाले विगत केही बर्षदेखि वृद्धआश्रममै बस्दै आउनुएका उहाँले चाडपर्वको समयमा आफन्त र गाउँघरको याद आउने बताउँछन् । ‘चाडपर्वमा आफु हुर्केबढेको गाउँघर र आफन्तहरुको सम्झना आउँछ, तर आफुलाई हेरचाह गर्ने कोही नभएपछि वृद्धआश्रम नै ठिक हुने रहिछ’, उनले भने, ‘छोराछोरी भएका भए घरमै राख्ने थिए होला तर मेरा कोही छैनन्, जसले गर्दा घरभन्दा अहिले वृद्धआश्रम नै राम्रो लाग्ने गरेको छ ।’ शारिरीक रुपमा अपांग भएका उहाँ एक्लै टाढा जान सक्नुहुन्न । जस्ले गर्दा वृद्धआश्रमबाट घर नजिकै भए पनि आफ जन्मिएको गाउँघर, आफन्तहरुसँग भेटघाट गरौ भने पनि स्वास्थ्यले साथ नदिएको उहाँ बताउँनुहुन्छ । ‘राम्रो स्वास्थ्य भएको भए हिडडुल गर्ने हुन्थ्यो,खुट्टाको समस्याले हिँडडुल गर्न सक्ने अवस्था छैन’, उनले भने, ‘गाउँघर र आफन्तको याद आएपनि जान सक्ने अवस्था छैन ।’
लालकुमारी र श्रीधर मात्रै होइन अहिले ज्येष्ठ नागरिक सरोकार केन्द्रद्वारा वृद्धआश्रममा १७ जना ज्येष्ठ नागरिकहरु बस्दै आएको छ । वृद्धआश्रममा बस्दै आउनुभएका बुबाआमाको दसैं पनि यहि मनाउने गरेको वृद्धआश्रमकी व्यवस्थापक हिरा शाहले बताएका छन् । चाडपर्वको समयमा नजिक घर भएका आफन्तहरु केही आउने गरेपनि अधिकांशका नआउने गरेको व्यवस्थापक शाह बताउँछन् । उहाँका अनुसार दाङ, रोल्पा, रुकुम, सल्यानलगायतका जिल्लाका ज्येष्ठ नागरिकहरु बस्दै आएका छन् ।





