भोली मदिरा बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध

२०८० कार्तिक ७, मंगलवार

नेपालगन्ज : जिल्ला प्रशासन कार्यालय बाँकेले दुर्गा भवानीको मुर्ति विसर्जनका दिन जिल्लाभरि मदिरा विक्री वितरण तथा उपभोगमा प्रतिबन्ध लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले मङ्गलवार एक सूचना जारी गर्दै बडा दसैँको भोलिपल्ट अर्थात् बुधवार दुर्गा मूर्ति विसर्जन जुलुस निस्कने भएकाले सो जुलुसलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन सो दिन बिहान ८ बजेदेखि राती १२ बजेसम्म जिल्ला भरि मदिराजन्य पदार्थको ओसारपसार, विक्री वितरण तथा उपभोग निषेध गरिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलद्वारा जारी सूचनामा जिल्लाको समग्र शान्ति सुरक्षा, सुव्यवस्था र सार्वजनिक हितलाई ध्यानमा राखी एक दिनका लागि पूर्ण रूपमा मदिराको सेवन, ओसारपसार र बिक्रीमा प्रतिबन्ध लगाइएको जनाउँदै सूचनाको प्रभावकारी कार्यान्वयनका लागि सबैमा अपिल गरिएको छ । सूचनाको बर्खिलाप कुनै गतिविधि वा कार्य भएमा कानुन बमोजिम कारबाही गरिने पनि सूचनामा उल्लेख छ । बाँकेमा बडा दसैँको भोलिपल्ट जिल्लाका विभिन्न स्थानबाट दुर्गा भवानीको मूर्ति पवित्र जल कुण्ड÷नदी घाटहरूमा विसर्जन गर्ने परम्परा छ ।

यसैबिच जिल्ला प्रशासन कार्यालय बाँकेले बडादसैँको भोलिपल्ट अर्थात् बुधवार गरिने दुर्गा मूर्ति विसर्जनका लागि समय सीमा यसअघिनै निर्धारण गरिसकेको छ । प्रमुख जिल्ला अधिकारी पोखरेलले जिल्लामा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले मूर्ति विसर्जनको समय सीमा निर्धारण गरिएको बताए।

उनले दुर्गा भवानीको मूर्ति विसर्जन र्याली अत्यन्तै मर्यादित, अनुशासित, शान्त एवम् सौम्य तुल्याउन अनुरोध गर्दै साँझ ५ बजे अघि नै मूर्ति विसर्जन सम्पन्न गर्न अनुरोध गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार