खोटाङ : लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको बचतकर्ताहरुको रकम अपचलन गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । प्रहरीले बचतकर्ताहरुको उजुरीको आधारमा सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईसहित अन्य आठ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरीले सोमबार पाँच दिनको म्याद थप गरी अनुसन्धान बढाएको छ ।
उपाध्यक्ष चौलागाई, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता बेनु कार्कीले बताए । उनीहरु बाहेक सहकारीका अध्यक्ष अनिल जोशीका भाइ सुनिल जोशी, सुनिलकी श्रीमती रविना श्रेष्ठ जोशीलाई असोज१३ गते र प्रबन्धक रुकु जोशीलाई भने असोज१७ गते काठमाडौंमा पक्राउ गरी दिक्तेल ल्याइएको कार्कीले बताए ।
सहकारीका अध्यक्ष अनिल जोशी भने कोरोनाले २०७८ वैशाख १५ गते पोखरामा निधन भएपछि वैशाख १६ गतेदेखि सहकारीको आर्थिक कारोबार ठप्प भएको थियो । जिल्लाका चार हजार पाँच सय बचतकर्ताको रकम घोटला गरेको भन्दै बचतकर्ताहरुले २०७९ फागुन २ गते सञ्चालक समितिका तत्कालीन अध्यक्ष जोशीको परिवारकासहित आठ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी परेको थियो ।
काठमाडौंमा पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय खोटाङ ल्याएर अनुसन्धान गरिरहेको अनुसन्धान गरिरहेको कार्कीले बताए । एक महिनाअघि नै पक्राउ परे पनि अनुसन्धानमा प्रतिकूल असर पर्ने भन्दै काठमाडौंमा पक्राउ पर्नेहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको थिएन । यसमध्ये सुनिल श्री एयरलायन्सका क्याप्टेन हुन् ।
उनीमाथि बचतकर्ताको रकम अपचलनमा मुख्य दोषीको आरोप लागेको छ । उनका परिवारले एक करोड ५० लाखभन्दा बढी ऋण लिएर अपचलन गरेको सहकारीको आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । सहकारीको नाममा जग्गा खरिद गरेको भनेर जोशी परिवार तथा आफन्तको नाममा राखेको उजुरी परेको प्रहरीले जनाएको छ । २०७२ मङ्सिर १० गतेदेखि दिक्तेल बजारमा कार्यालय स्थापना गरेर कारोबार सुरु गरेको थियो ।
उक्त सहकारीमा एकैजनाले ४५ लाखसम्म बचत गरेका छन । सहकारीका ऋणीहरुले न्यूनतम ३० हजारदेखि ७५ लाखसम्म ऋण लिएको पाइएको छ । यस्ता ऋणी ७४ जना छन् । सहकारीको जग्गा बाहेक साँवाब्याज सहित करिब दश करोड ऋण लगानी रहेको सहकारी सम्वद्धले जनाएका छन् । बचतकर्तालाई साँवाब्याजसहित करिब सात करोड फिर्ता दिनुपर्ने लेखा परीक्षण प्रतवेदनमा उल्लेख छ । सहकारीमा ठगिएकाहरुले बेलाबेला प्रदर्शन पनि गर्दै आएका छन् ।





