काठमाडौं : एक वर्षदेखि रिक्त राष्ट्रिय मानव अधिकार आयोगको सचिवका लागि कायममुकायम सचिव मुरारी खरेलको नाम सिफारिस भएको छ ।
आयोगको मंगलबार बसेको बैठकले एक सदस्यीय सचिव बढुवा सिफारिस समितिले सिफारिस गरेका तीन जना सहसचिवमध्ये खरेलको नाम सचिवका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको हो ।
अब बस्ने मन्त्रिरिषद् बैठकले खरेललाई सचिवमा बढुवा गर्नेछ । आयोगका सदस्य डा. सूर्य ढुंगेलको अध्यक्षतामा गठित सचिव बढुवा सिफारिस समितिले खुला प्रतिस्पर्धा गराएर तीन जनाको नाम आयोगमा सिफारिस गरेको थियो । जसमा पहिलो नम्बरमा आयोगका कामु सचिव खरेल, दोस्रोमा सहसचिव यज्ञ अधिकारी र तेस्रोमा सहसचिव डा.टीकाराम पोखरेललाई सिफारिस गरिएको थियो ।
सचिव सिफारिस गर्न मंगलबार बसेको आयोगको बैठकमा आयोगकै सदस्य मिहिर ठाकुरले भने फरक मत राखेका थिए । उनले खरेल सचिव हुन अयोग्य भएको भन्दै अर्का सहसचिव अधिकारीलाई सचिवमा सिफारिस गर्नुपर्ने मत राखेका थिए । तर, अध्यक्षसहित बाँकी तीन जना सदस्यले मुरारीको पक्ष लिए ।





