विराटनगर : कोशी प्रदेश सरकार आज (शुक्रबार) विस्तार हुने भएको छ । मुख्यमन्त्री केदार कार्कीले गठबन्धन दलबाट दुई जनालाई मन्त्री नियुक्त गरी सरकार विस्तार गर्ने तयारी गर्नुभएको हो । असोज २८ गते नियुक्त भएका मुख्यमन्त्री कार्कीले २० दिनपछि दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
मुख्यमन्त्री कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक एक जना मन्त्री नियुक्त गर्ने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ । नेकपा (माओवादी केन्द्र)बाट गणेशप्रसाद उप्रेती सुशिल र नेकपा एकीकृत समाजवादीबाट कमल जबेगुलाई मन्त्रीका लागि नाम सिफारिस गरिसकेको बताइएको छ । यद्यपि यस विषयमा मुख्यमन्त्री कार्यालय र सम्बन्धित दलहरुले भने औपचारिक जानकारी दिइसकेको छैन ।
नेकपा (एमाले)को समर्थनमा कांग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई सरकारमा गठबन्धनलाई सहभागी नगराउन नेकपा एमालेको दबाब छ । यद्यपि मुख्यमन्त्री कार्कीले सहमतीय सरकार बनाएर स्थायित्व दिनुपर्ने भन्दै गठबन्धनलाई सरकारमा सहभागी गराउन लागेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले साँझ ६ः३० बजे मन्त्रीहरुको शपथको कार्यक्रम रहेको जानकारी दिएको छ । मुख्यमन्त्री कार्की कोशी नदीमा मोटरबोट दुर्घटनामा परी घाइते भएका विराटनगरका दुई जना पत्रकारहरुको उपचार भइरहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएकाले फर्किनासाथ मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका छन् ।





