टिकटकमाथि प्रतिबन्ध लागेसँगै ‘भीपीएन’ डाउनलोड गर्नेहरु बढे

२०८० कार्तिक ३०, बिहीबार

काठमाडौं : सरकारले मन्त्रिपरिषदको बैठकबाटै निर्णय गराएर सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) एप डाउनलोड गर्नेहरु बढेका छन् । फेसबुक र ट्वीटरका प्रयोगकर्ताहरुले आफूले भीपीएन डाउनलोड गरेर टिकटक चलाइरहेको स्टाटस लेखिरहेका छन्, टिकटकका भिडियो पनि सेयर गरिरहेका छन् ।

भीपीएनमार्फत टिकटक हेर्न र चलाउन सकिने भएकाले अहिले प्रयोगकर्ताहरु यता मोडिएका हुन् । अहिले गुगल प्ले स्टोरमा हेर्दा सबैभन्दा बढी डाउनलोड भएका एपको शीर्ष स्थानमा विभिन्न नामका भीपीएन नै बढी छन् । सरकारले आफूमाथि टिकटकबाट बढी आलोचना भएर यसलाई प्रतिबन्ध लगाउने निर्णय गरेकाले भीपीएन डाउनलोड गर्न फेसबुक र ट्वीटरबाट एकले अर्कालाई सिकाउन थालिएको थियो । यसको प्रभाव स्वरुप भीपीएन डाउनलोड गर्नेहरु तीव्र रुपमा बढिरहेका छन् ।

इन्टरनेट सेवा प्रदायक (आइएसपी) मार्फत टिकटकको सर्भरमा प्रयोगकर्ताको पहुँच नपुग्ने भएपछि अब भर्चुअल प्राइभेट नेटवर्कमा प्रयोगकर्ता झुम्मिएका छन् । यसअघि आइएसपीलाई प्रयोगकर्ताको डिभाइसमा कुन एप्स चलिरहेको छ र त्यसले कति ब्याण्डविथ खपत गरिरहेको छ भन्ने थाहा हुन्थ्यो । तर, अब भीपीएन प्रयोग बढेपछि यसमा तेस्रो पक्षले कुनै जानकारी पाउँदैन । आइएसपीले सिँधै टिकटकको सर्भरमा जानबाट रोकेपनि प्रयोगकर्ताहरु भीपीएनमार्फत गइरहेका हुन्छन् । आइएसपीले भीपीएनको सर्भरमा प्रयोगकर्ता गइरहेको देख्न सकेपनि रोक्न सक्दैन । भीपीएन हुँदै प्रयोगकर्ताहरु कहाँ कहाँ गइरहेका छन् भन्ने आइएसपीहरुलाई थाहा पनि हुँदैन ।

अहिले निःशुल्क रुपमा प्रयोग गर्न सकिने भीपीएनको प्रयोग बढेकाले सुरक्षामा झन चुनौती थपेको साइबर सुरक्षाका जानकारहरु बताउँछन् ।

सँगै भीपीएन प्रयोगले खर्च पनि बढाउने इन्टरनेट सेवा प्रदायकहरु नै बताउँछन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)का अध्यक्ष सुधीर पराजुलीले भीपीएन प्रयोग गर्दै टिकटक चलाउनेहरु देखिएको भन्दै यसले सेवा प्रदायकहरुको खर्च बढाउने बताएका छन् । टिकटक बन्द हुनु अगाडीसम्म नेपालका प्रयोगकर्ताहरुले नेपालकै ट्राफिक प्रयोग गरेको भएपनि अब भीपीएन प्रयोग गरेपछि सर्भरसँगको पहुँचका लागि अन्तर्राष्ट्रिय ट्राफिक प्रयोग हुने भएकाले खर्च बढाउने उनको भनाइ छ ।

‘भीपीएन प्रयोगले शत् प्रतिशत नै बाहिरको ट्राफिक प्रयोग हुन्छ, हामीले यसलाई रोक्न पनि सक्दैनौँ’ उनले भने, ‘सिँधै अन्तराष्ट्रिय ब्यान्डविथ खपत हन्छ, खर्च बढ्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
3
+1
0
+1
0
+1
3
+1
0
+1
0

ताजा समाचार