काठमाडौँ : नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका पाँच जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बुधबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरले बढुवा भएका उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
बढुवा समितिले सिफारिस गरेका पाँच जना एसपी मंसिर ५ गते गृहमन्त्रीस्तरीय निर्णयबाट एसएसपीमा बढुवा भएका थिए । जसमा बसन्त रजौरे, रविकुमार पौडेल, नविनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राईको बढुवा भएको हो ।
दर्ज्यानी चिन्ह प्रदान गर्दै आइजिपी कुँवरले सुरक्षा चुनौतीको सामना गर्न तयार पारिएको सुरक्षा योजना तथा नीतिको प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिए । उनले भरपर्दो सुरक्षा व्यवस्था मिलाउन प्रचलित कानून बमोजिम बल प्रयोगको सिद्धान्तलाई अवलम्बन गर्दै उच्च मनोबलका साथ काम गर्न सुरक्षा व्यवस्थापनमा खटिन प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन् ।





