कालीकोट : गाउँका डाक्टर उपाधि पाएका रास्कोट –१ का नमराज शाहीको निधनले गाउँ शोकमग्न बनेको छ । आइतबार उनको निधन भएपछि गाउँवासी शोकमग्न भएका हुन् ।
“हाम्रा डाक्टरको निधन भयो, रास्कोट क्षेत्रकै चिकित्सक गुमायौँ” भन्दै स्थानीयहरू मलामीमा सहभागी भएका थिए । रास्कोट नगरपालिका भित्रका तीन वटै साबिकका गाउँ विकास समितिका नागरिकलाई शाहीले सेवा दिंदै आएका थिए । सुत्केरी हुन कठिन भएका महिलाको बच्चा निकाल्नेदेखि साना अप्रेसन समेत गरी धेरै बिरामी निको पारेकाले उहाँलाई यहाँका नागरिकले डाक्टर भनेर चिन्थे ।
“गाउँमा कोही बिरामी हुँदा सिटामोलसम्म दिने कोही थिएनन्” रास्कोट २ का शान्ताकुमारी रोकले भने , “सशस्त्र द्वन्द्वका बेला त झन् गाउँमा कोही बस्दैन थिए । त्यस्तो बेलामा पनि गाउँमै बसेर उहाँले नागरिकको सेवा गरे ।” पद सिनियर अहेब भए पनि सिपका हिसाबले चिकित्सककै क्षमता राख्नु हुन्थ्यो उनले भन्नुभयो । उहाँ नभएको भए मैले मेरो पहिलो सन्तान छोरी सकुशल जन्माउन सक्दैनथे होला उनको भनाइ छ ।
राति व्यथा लाग्यो, पेटको बच्चा जन्माउन कठिन भएका बेला उनकै सहयोगमा मैले छोरीको जन्म गराएको हुँ उनले थपे, “आइतबार सिनियर अहेव शाहीको निधनको खबरले हामी गाउँवासी दुःखी बनेका छौँ ।”
क्यान्सर रोगका कारण सिनियर अहेव नमराज शाहीको आइतबार बिहान ४ बजे आफ्नै घरमा निधन भएको स्थानीयको भनाइ छ । रास्कोट नगरपालिकाका निवर्तमान उपप्रमुख मिम्सरा बमले गाउँका डाक्टरको निधनले सिङ्गो नगरपालिका शोकमा डुबेको बताए ।





