कोषमा जम्मा हुँदैन मुक्तिनाथ मन्दिरको भेटी

२०८० मंसिर १३, बुधबार

म्याग्दी : मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरभित्र भक्तजनले चढाएको भेटी वर्षौंदेखि व्यक्तिको कब्जामा रहेको छ । मन्दिर दर्शन गर्न आएका अधिकांश तीर्थयात्री तथा धार्मिक पर्यटकले मन्दिरभित्र चढाएको पैसा, सुन, जिन्सी तथा बहुमूल्य गरगहना मन्दिरमा रहेका आनी–झुमाको कब्जामा पर्ने गरेको हो ।

एक दशकअघि तत्कालीन पुनरावेदन अदालत बागलुङले मुक्तिनाथ मन्दिरभित्र भक्तजनले चढाएको भेटी, सुन, जिन्सी तथा बहुमूल्य गरगहना मन्दिरकै सम्पत्तिका रूपमा व्यवस्थित गर्न फैसला गरेको थियो । जिन्सी तथा नगद भेटी मुक्तिनाथ क्षेत्र विकास कोष मातहत ल्याउनुपर्ने सरोकारवालाको सुझाव र अदालतको फैसलालाई समेत कार्यान्वयन गर्न अटेर गरिएको छ । मन्दिरबाहिर राखिएका दानपेटीका र नगदी रसिदमार्फत प्राप्त भएको नगद भेटी मात्र गणना गरी कोषमा जम्मा गरिन्छ । गरगहना सार्वजनिक गर्दै कोष मातहत ल्याउनुपर्ने अदालतको फैसलामा उल्लेख छ । मन्दिरभित्र चढाएको भेटीलाई मुक्तिनाथकै सम्पत्तिका रूपमा गणना हुनुपर्ने मागसहित तत्कालीन पुनरावेदन अदालतमा रिट दर्ता भएको थियो । २०७० साल पुस २२ गते पुनरावेदन अदालत बागलुङले मन्दिर मातहत ल्याउन फैसला गरेको थियो ।

अदालतको उक्त फैसला कार्यान्वयन गर्न जनप्रतिनिधि र सम्बन्धित मुक्तिनाथ क्षेत्र विकास समितिले चासो देखाएका छैनन् । मन्दिरको दानपेटीमा भन्दा मन्दिरभित्र भक्तजनले धेरै पैसा चढाउने गर्दछन् । सबै भेटीलाई मन्दिर मातहत ल्याउने हो भने कोषमा ठुलो रकम जम्मा हुन्छ । मुक्तिनाथ क्षेत्र विकास समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले यस विषयमा छलफल र बहस भए पनि सार्थक हुन नसकेको बताए । जनप्रतिनिधि र स्थानीय सरोकारवालासँग छलफल गरेर फैसला कार्यान्वयनमा लैजान सकिने उनको भनाइ छ । उनले भने, “मन्दिरभित्र भक्तजनले चढाएको भेटी वर्षौंदेखि त्यहीँका बौद्ध लामा र आनी–झुमाहरूले लैजाने गरेका छन् । यो विषयमा बेलाबखत कुरा उठे पनि व्यावहारिक र पुरानो धार्मिक मान्यताका कारण निष्कर्षमा पुग्न कठिनाइ भएको छ ।”

मुक्तिनाथ क्षेत्र विकास समितिका सदस्य सचिव तथा मालपोत कार्यालय मुस्ताङका प्रमुख सरस्वती थापाले मन्दिरदेखि बाहिर राखिएका दानपेटिकामा सङ्कलन भएको रकम मात्र गणना गरी कोषमा जम्मा गर्ने गरिएको बताए। कोषमा अहिले करिब आठ करोड रुपियाँ जम्मा भएको उहाँले बताए । दानपेटीका र मन्दिर परिसरमा नगदी रसिदमार्फत भक्तजनले प्रदान गरेको रकमलाई कोषमा जम्मा गर्ने गरिएको उनले बताए । दानपेटिका भरिएपछि रकम गणना गर्ने प्रचलन छ । यसअघि गत जेठमा भेटी गणना गरिएको र अहिले फेरि दानपेटीका भरिन थालेकाले मङ्सिरको अन्तिममा गणना गर्ने सदस्य सचिव थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार