ठेकेदारको लापरबाहीले यात्रुलाई सास्ती

२०८० मंसिर १४, बिहीबार

सुर्खेत : सुर्खेतको प्रमुख पर्यटकीय स्थल काँक्रेविहार जाने सडक वर्षौंदेखि अलपत्र परेको छ । मङ्गलगढी चोकदेखि लाटीकोइलीको शिव मन्दिरसम्मको सडक स्तरोन्नति नहुँदा स्थानीय नागरिकले सास्ती बेहोर्नु परेको छ । लाटीकोइली क्षेत्रका नागरिकका साथै काँक्रेविहार पुग्ने पर्यटकले सास्ती भोग्दै आएका छन् ।

स्थानीय प्रकाश न्यौपानेले सडकले सुविधाभन्दा बढी सास्ती दिएको बताए । उनले निर्माणाधीन सडक धुलाम्मे र  पानी परेको समयमा हिलाम्मे हुने गरेको जानकारी दिए । सडकमा खाल्टाखुल्टीको समस्या पनि उत्तिकै छ । यो सडकमा खाल्टाखुल्टी र धुलो, धुवाँले हिँड्नै सकिने अवस्था नभएको उनको भनाइ छ । लामो समयदेखि जीर्ण अवस्थामा रहेको सडक स्तरोन्नति थालिए पनि काम नै अलपत्र परेको छ । सडक स्तरोन्नतिमा ढिलाइ हुँदा नागरिकले सास्ती भोग्नु परिरहेको छ ।

वर्षौंदेखिको सडक सास्तीले स्थानीय नागरिक हैरान भएका छन् । दैनिक उक्त बाटो भएर विद्यालय जाने विद्यार्थी थप समस्यामा पर्ने गरेका छन् । विद्यार्थी स्कुल जाँदा होस् या ज्येष्ठ नागरिकलाई सडकमा हिँड्नै अप्ठ्यारो हुने गरेको स्थानीय लक्ष्मी थापाले बताउनुभयो । अलपत्र सडककै कारण पटक पटक दुर्घटना हुने गरेकोसमेत उहाँको भनाइ छ । सडक बन्नेमा स्थानीय टेकबहादुर थापालाई कुनै भरोसा छैन । उनले मुख्य बजारको पानीको नालासमेत यो नालामा जोडेको हुँदा यसले नालाको नजिक भएको बस्तीलाई झन् बढी दुःख दिने गरेको बताए ।

सडक निर्माणमा ठेकेदार कम्पनीले लापरबाही गरेको छ । सम्बन्धित निकायले पनि बेवास्ता गरेको स्थानीयको गुनासो छ । यसअघि प्रदेशको पूर्वाधार विकास निर्देशनालय र वीरेन्द्रनगर नगरपालिकाले संयुक्त रूपमा ठेकेदार कम्पनीसँग सम्झौता गरेर काम अघि बढाएका थिए । अहिले पूर्वाधार विकास निर्देशनालयले मात्रै जिम्मा लिएर ठेकेदार कम्पनीसँग नयाँ सम्झौता गरेको छ । पछिल्लो पटक २०७८ सालमा पुनः सम्झौता गरिएको थियो ।

कर्णाली प्रदेश पूर्वाधार विकास निर्देशनालयले २०७८ साल मङ्सिर १४ मा अमर–सिस्ने, नेपाल–मेघा कम्पनीसँग सडक स्तरोन्नतिका लागि सम्झौता गरेको हो । सम्झौता अनुसार २०८० साल असार १५ गतेसम्म काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । उक्त मितिमा काम हुन नसकेपछि सडक स्तरोन्नतिका लागि पुनः म्याद थप गरिएको छ । सम्झौता अनुसार २०८० साल फागुन १५ गतेसम्म काम सम्पन्न गर्ने गरी सम्झौता भएको निर्देशनालयले जनाएको छ । १२ करोड ७६ लाखमा ठेक्का सम्झौता भएको छ । सम्झौता अनुसार कम्पनीले काम अघि बढाएको छैन । दुई हजार चार सय मिटर सडकको काम अहिलेसम्म ४२ प्रतिशत मात्र सकिएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार पाँच करोड रकम भुक्तानी भइसकेको छ । ठेक्का सम्झौता सकिन लगभग चार महिना मात्र बाँकी रहेको पूर्वाधार विकास निर्देशनालयका सबइन्जिनियर प्रेमचन्द्र पाण्डेले जानकारी दिए।  ठेकेदारको लापरबाहीले सडक स्तरोन्नतिको काममा ढिलाइ हुँदा नागरिकले सास्ती भोग्नु परेको वीरेन्द्रनगर नगरपालिका–९ का वडाध्यक्ष ऋषि गिरीले बताए ।

सडक स्तरोन्नतिमा ढिलाइ भएको भन्दै केही दिनअघि स्थानीयले सडक अवरुद्ध पारेका थिए । सडकको काम सुरु गर्ने सहमति भएपछि विरोध रोकिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार