बुटवल : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुवान एक्लै लड्नु पर्ने बताएका छन् ।
आज बुटवल सुरु भएको पार्टीको लुम्बिनी प्रदेश भेलाको उद्घाटन सत्रमा बोल्दै थापाले आगामी चुनावमा हारे पनि एक्लै लड्नुपर्ने बताएका हुन् ।उनले भने, ‘हामीले आगामी २०८४ को चुनावमा एक्लै लड्नुपर्छ, गठबन्धन गरेर होइन । हामीले हारे पनि एक्लै चुनाव लड्नुपर्छ, किन गठबन्धन गर्ने ?सधैँ सोफामा बस्नु पर्ने हो र ? केही समय चकटीमा बसे पनि केही हुँदैन ।’
उनले निर्वाचनमा समानुपातिक कोटाको दुरुपयोग भएको भन्दै त्यसलाई रोक्नु पर्ने बताए । उनले समानुपातिक पद्धतिमा आफन्त र आफू निकट राख्दा समस्या आएको बताए । उनले भने, ‘समानुपातिकमा कोही दाजु,कोही भाउजू भन्दा इमानदार नेता पछाडि परेका छन् ।’





