हिमाल बचाउन प्रधानमन्त्रीको अपिल

२०८० मंसिर १७, आईतवार

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वव्यापी रूपमा बढ्दो तापक्रमले हिमाललाई यातना दिएको जिकिर गर्दै पहिला हिमाल बचाउन विश्व समुदायसमक्ष अपिल गरे ।

संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा शनिबार आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) को कन्फ्रेन्स अफ पार्टीजलाई सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन् । उनले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवं हानिकारक असर भोगिरहेको बताए । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संयन्त्र –आईपीसीसी) ले दिएको प्रतिवेदनले आफूलाई सबैभन्दा बढी चिन्तित तुल्याएको जिकिर गर्दै उनले भने– ‘हामीमाथि भएको डरलाग्दो अन्यायका कारण हाम्रा नागरिक बाढी, पहिरो, डढेलो, हिमनदी विस्फोट, खडेरीजस्ता जलवायुजन्य संकटबाट नराम्ररी प्रभावित भएका छन् ।

जलवायु प्रेरित प्रकोपले हिमाली क्षेत्रमा कीर्तिमान तोडिरहेको छ । हाम्रा हिमनदीको एक तिहाई हिस्सा गुमिसकेको छ भने वैज्ञानिकहरूले यस शताब्दीको अन्त्यसम्म थप एक तिहाई हिस्सा गुमाउने अवस्था रहेको बताइरहेका छन् । यो हामी सबैका लागि जागरणको घण्टीसमेत हो ।’
हिमालय मानव सभ्यता, पारिस्थितिक प्रणाली र जैविक विविधताले विश्व समुदायको सेवा गर्नुका साथै तल्लो तटीय क्षेत्रका मानिसका लागि जीविकाको प्रमुख स्रोतको रूपमा रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तन प्रकृति र मानवताविरुद्धको युद्ध भएको उल्लेख गर्दै भने – ‘म यहाँ मेरा निर्दोष मानिसका लागि जलवायु न्यायका लागि उभिएको छु , जो यस प्रकोपबाट पूर्ण पीडित छन् ।’ उहाँले नेपाल पेरिस सम्झौताप्रति पूर्ण प्रतिबद्ध रहेको जानकारी दिँदै भने – ‘नेपाल सन् २०४५ सम्ममा नेट शून्य हरितगृह ग्यास उत्सर्जनको लक्ष्य हासिल गर्न स्पष्ट छ । जुन विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्षअगाडि रहेको छ ।’

उनले सन् २०२५ सम्म जलवायु वित्तमार्फत् एक सय बिलियन डलरबराबरको सहयोग उपलब्ध गराउनुपर्ने र त्यसका सर्तहरू सरल हुनुपर्नेमा जोड दिँदै जलवायु संकटलाई सम्बोधन गर्न र न्यायका खातिर अनुदानको माग पनि गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले हानि तथा नोक्सानी कोष अल्पविकसित र हिमाली देशका लागि अनुमानित, सरलीकृत र पर्याप्त हुनुपर्नेमा पनि जोड दिँदै जीएसटी रिपोर्टले सबैलाई स्पष्ट मार्गचित्र दिनैपर्नेमा तत्काल एकताबद्ध भएका काम गर्नुपर्ने धारणा पनि राखे ।

यसअघि प्रधानमन्त्री प्रचण्डले हिमाली मुलुकले भोगिरहेको जलवायु परिवर्तनका असरबारे छलफल सत्रको अध्यक्षता गर्दै मानव जाति र सभ्यता बचाइराख्न पहिला हिमाल बचाउन आवश्यक रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार