धरान : प्रदेश नं १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समितिले विभिन्न जिल्लामा पक्राउ गरिएका कार्यकर्ताहरुको रिहाइको माग गर्दै बन्द गर्ने क्रममा धरानबाट थप ५ जना पक्राउ परेको छ ।
पक्राउ परेको पहिचानवादीहरुलाई रिहाईको माग गर्दै मङ्सिर ३० र पुस १ गते सम्म कोशी प्रदेशमा यातायात बन्दको क्रममा धरानबाट प्रहरीले ५ जना पहिचानवादी नेता, कार्यकर्तालाई पक्राउ गरेको जनता समाजवादी रास्ट्रिय नेपालका सदस्य तथा लिम्बुवान रास्ट्रिय समितीको अध्यक्ष जेन्टल लिम्बुले बताए । पक्राउ गरिएकामा युवा नेता सुमन चेम्जोङ सहित करुण राई, शम्भु राई पृथक, सिताराम राई र हरि बान्तवा भएको सङ्घर्ष समितिले जनाएको छ । पक्राउ गरिएको पहिचानवादीहरुको बिनाशर्त रिहाई हुनुपर्ने नभए अझ चर्को आन्दोलन गर्ने अध्यक्ष लिम्बुले बताए ।
बन्दले धरान सुनसान रहेको छ, भानुचोक वरपर साना ठुला दुई पाङ्ग्रे, चार पाङ्ग्रे सवारी साधान कुनै पनि सवारी साधन आवतजावत गर्न पहिचानवादीहरुले रोक लगाएको छ । पैदल यात्री बाहेक सबै सवारी साधनमा पहिचानवादीहरुले रोक लगाउदा साना ब्यापारीलाई मर्का परेको ब्यापारी सिता आचार्यले बताए । उनले मौसम अनुसारको फलफुलहरु खरिद गरि डोकोमा बजार डुलाएर बेची घरव्यवहार चलाउदै आएको बताए ।
अहिले सुन्तलाको मौसम भएकोले सुन्तला खरिद गरि बेच्न आउनुभएकोमा हाल सम्म १ केजि पनि बिक्री नभएको बताए । आफू जस्तै थुप्रै व्यापारी छ्न आज सबैको हालत यस्तै छ र यो सुन्तला समयमा बिक्री नगरे बिग्रने र आफुहरुको दैनिकी चलाउन समेत मुस्किल हुने बताए ।





