काठमाडौँ : मध्यपहाडी लोकमार्ग अन्तर्गतका सडक अवरुद्ध गर्ने क्रममा पक्राउ परेका पूर्व मन्त्री गोपाल किराँतीसहित पाँच पहिचावादी युवा धरौटीमा रिहा भएका छन् । नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’लाई लक्षित गर्दै मध्यपहाडी सडक अवरुद्ध गराउने क्रममा गत मंसिर–२६ गते पक्राउ परेका पूर्व पर्यटनमन्त्री किराँती, जनता समाजवादी पार्टी खोटाङका सचिवालय सदस्य राजेश राई, गन्धमान राई, नेपाल आदिवासी जनजाति महासङ्घ, खोटाङका सचिव उदिम चाम्लिङ, वाईसीएलका हलेसी तुवाचुङ नगर समितिका इन्चार्ज विजय राई लगायत पाँच पहिचानवादी आइतबार साँझ रिहा भएका हुन् ।
पूर्व मन्त्री किराँतीसहित पाँच पहिचानवादी युवा जनही रु एक/एक हजार धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तम खड्काले जानकारी दिए । प्रहरीले पाँच जना विरुद्ध मङ्सिर–२७ गते अभद्र व्यवहार सम्बन्धी मुद्धामा पाँच दिन म्याद थप गरेर हिरासतमा राखेको थियो ।
पहिचान पक्षधर पार्टी तथा जातीय संगठन पुनः नामांकन संयुक्त संघर्ष समितिमा संगठित भएर विगत दश महिनादेखि कोशी प्रदेशलाई पुनः नामाङ्कन गर्न माग गर्दै आन्दोलनरत छन् । एमालेको समृद्धिका लागि संकल्प यात्रा कोशी प्रदेश प्रवेश गर्न लाग्दा अवरोधस्वरुप प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मंसिर–२६ गतेदेखि अनिश्चितकालका लागि घुर्मी (उदयपुर) देखि लेगुवा (धनकुटा) सडकखण्ड बन्द आव्हान गरेको थियो ।
बन्द सफल बनाउन हिँडिरहेको बेला पूर्व मन्त्री किराँतीसहित पाँच पहिचानवादी युवालाई प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरेको थियो । पूर्व मन्त्री किराँतीसहित पाँच पहिचानवादी युवा धरौटीमा रिहा भएपछि समर्थकहरुले आइतबार साँझ नाराबाजी गर्दै दिक्तेल बजार परिक्रमा गरेका छन् ।
यस्तै, प्रहरी नियन्त्रणमा रहेका पूर्व मन्त्री किराँती लगायतका पहिचानवादी नेताको रिहाइको माग गर्दै सडक बन्द गर्ने क्रममा आइतबार पक्राउ परेका प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति खोटाङका संयोजक युगसन किराँत, युवा परिचालन समिति खोटाङका संयोजक निर्मल राई, जनता समाजवादी पार्टीका सचिव सुनिल चाम्लिङ, संघर्ष समितिका सदस्य संगीता किरात, उपार्जुन चाम्लिङ, लक्ष्मी राई, सोनामहाङ राई र मेलिना राई पनि छुटेका छन् । दिक्तेलको किराँतचोकस्थित मध्यपहाडी राजमार्गमा सवारी आवागमनमा अवरोध गरेको भन्दै आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरु भने विनाशर्त रिहा भएका छन् ।
प्रदेशको पुनः नामाङ्कनको मागमा संघर्षरत संयुक्त संघर्ष समितिले कोशी नामकरणका पक्षमा हस्ताक्षर गर्ने ८२ सांसद र पहिचान विरुद्ध अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली, नेता योगेश भट्टराई र महेश बस्नेत लक्षित विरोधका कार्यक्रम गरिरहेको छ । उनीहरुले आफूहरुको आन्दोलन जारी रहेको जनाएको छ ।
पहिचानवादीले आव्हान गरेको बन्दका कारण शनिबार र आइतबार जिल्लाको जनजीवन प्रभावित भएको थियो । पूर्व मन्त्री किराँतीसहितका नेताहरु रिहा भएपछि उनीहरुले मध्यपहाडी लोकमार्गमा आव्हान गरेको यातायात बन्दको कार्यक्रम तत्कालका लागि स्थगित गरेको जनाएको छ ।





