काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अभिव्यक्ति स्तरहीन र खेदजनक भनेर टिप्पणी गरेका छन्।
उनले आफ्नो क्षेत्राधिकारभित्रका भ्रष्टाचार र बेथितिका बारेमा चासो दिनुको साटो धर्म विशेषको प्रचार गर्दै हिँडेको आरोप लगाएका हुन्। सांसद झाले सामाजिक सञ्जालमा १० वटा बुँदा उल्लेख गरेर ती विषयमा किन नबोलेको भनेर प्रश्न पनि गरेका छन्।
उनले लेखेका छन्, ‘विमानस्थलमा करोडौँको घोटाला, बोलेनन्। ध्वजावाहक विमानमा भ्रष्टाचार, बोलेनन्। अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयमा सुन लुकाउने दराज, बोलेनन्। ३१ जनालाई छाडेर ध्वजावाहक उडे, बोलेनन्।’
आफूले धेरैपटक गरेका प्रश्नमा पनि मन्त्रीले जवाफ नदिएको भन्दै उनले अगाडि लेखेका छन्, ‘जानकी मन्दिरको टायल र बत्तीमा भ्रष्टाचारबारे धेरैपटक सोधेँ, बोलेनन्। गुठीको सम्पत्ति सबै मिलेर लुट्दै छन्, बोलेनन्। ईयूको कालोसूचीबारे, बोलेनन्। भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुनुको कारणबारे सोधेँ, बोलेनन्। जानकी मन्दिर विश्वसम्पदा सूचीमा कहिले पर्छ भनेर सोधेको, बोलेनन्। अन्तर्राष्ट्रिय विमानस्थल ब्याग फोर्छ, सामान चोर्छ, गलत व्यवहार गर्छ। किन कारबाही नगरेको? बोलेनन्।’ उनले प्रश्न गरेका छन्, ‘अनि एक धर्मको प्रचार गर्दै बोल्दै हिँड्न पो मन्त्री बनेको? यो व्यवहार खेदजनक छ।’