भैरहवा : लुम्बिनीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भैरहवाबाट लुम्बिनीसम्म पदयात्रा कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रेस क्लबको नवौँ स्थापना दिवसका अवसर पारेर आज ‘बौद्ध सञ्चार यात्रा’ सम्पन्न भएको हो ।
त्रिपिटकमा पनि ‘बौद्ध सञ्चार यात्रा’को वर्णन गरिएको बताउँदै यसैको अनुशरण गर्दै एक सय ५० जनाभन्दा बढीको सहभागितामा भैरहवाबाट लुम्बिनीसम्म करिब २४ किलोमिटर पदयात्राको आयोजना गरिएको लुम्बिनी प्रेस क्लबका कार्यवाहक अध्यक्ष कमल रायमाझीले जानकारी दिए ।
“लुम्बिनी अहिले नेपालको मात्र नभई यसको अन्तर्राष्ट्रियकरण भइसकेको छ”, उनले भने, “विश्व सम्पदा सूचीमा सूचीकृत भएको यो स्थल शान्तिगामीहरूको लागि साझास्थल हो ।” यसमा लुम्बिनी प्रेस क्लबको यात्राले समग्र नेपालीलाई लुम्बिनीको प्रचार–प्रसारमा थप सहयोग गर्ने उनले बताए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पत्रकार सञ्चारकर्मसँगै लुम्बिनीको पर्यटनका लागि गरेको कार्य सराहनीय रहेको बताए । ‘पर्यटनका लागि शान्ति, शान्तिका लागि आध्यात्मिक मौल यात्रा’ नारा दिइएको पदयात्रा भैरहवाको लुम्बिनी गेटबाट सुरु भई मायादेवी मन्दिरमा समापन भएको थियो ।





