काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा क्यान्सर उपचारको आधुनिक प्रविधि टोमोथेरापी सेवा सुरु भएको छ।
अस्पतालका निर्देशक डा. सन्तोस पौडेलले क्यान्सर उपचारको परम्परागत रेडियोथेरापीभन्दा आधुनिक प्रविधि टोमोथेरापी सेवा परीक्षणका रुपमा सुरु गरिएको भएको जानकरी दिए। भारतीय अनुभवी प्रविधिज्ञ टोली झिकाई उनीहरुको समन्वयमा सेवा सुरु गरिएको हो। एक हप्ता १० दिन परीक्षणपछि सेवा पूर्ण रुपमा सञ्चालन गर्ने उनको भनाइ छ। सेवा कति घण्टा दिने सेवा लिएवापत बिरामीले कति शुल्क तिर्नुपर्छ भन्ने विषयमा छलफल गर्न समिति गठन गरेको उनले जानकारी दिए।
उनले भने, “अहिले अस्पतालमा आधुनिक प्रविधि टोमोथेरापी सेवा परीक्षण सुरु गरेका छौँ। सेवा शुल्क कति लिने, कति सयम मेसिन सञ्चालन गर्ने, कति बिरामीलाई सेवा दिने भन्ने विषयमा अध्ययन गर्न समिति गठन गरेका छौँ। उनीहरुसँग छलफल गरेर कार्यविधि बनाए पूर्णरुपमा सञ्चालनमा ल्याउछौँ। ’’
के हो टोमोथेरापी ?
क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीका अनुसार टोमोथेरापीमा विकीरण (रेडिएसन) का माध्यमबाट क्यान्सरग्रस्त कोषको उपचार गरिन्छ।टोमोथेरापीले क्यान्सरग्रस्त कोषमा मात्रै रेडिएसन दिने भएकाले क्यान्सर भएको भागको वरिपरिका स्वस्थ कोषमा रेडिएसनको प्रभाव पर्दैन। रेडियोथेरापीको तुलनामा टोमोथेरापीबाट उपचार गर्दा रेडिएसनको साइड इफेक्ट न्यून हुने चिकित्कस बताउँछन्।
टोमोथेरापीबाट रेडिएसनको माध्यमबाट सामान्य क्यान्सरदेखि जटिल क्यान्सरसम्मको सहज र सफल उपचार गर्न सकिन्छ। वीर अस्पतालमा दैनिक साढे दुई सय भन्दा बढी विभिन्न प्रकारका क्यान्सरका बिरामीले सेवा लिने गरेका छन्।





