काठमाडौँ : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डिडिसी) का महाप्रबन्धक सञ्जीव झालाई मन्त्रालय झिकाएको छ ।
मन्त्रालयले दिएको निर्देशन अनुसार काम नगरेको भन्दै उनलाई मन्त्रालयमा झिकाइएको कृषि मन्त्रालय पशुपन्छीतर्फका सचिव डा. रेवतीरमण पौडेलले बताए । उनलाई कुनै कारबाही गरको होइन, मन्त्रालयमा दुधविज्ञको रूपमा बोलाइएको बताउँदै सचिव पौडेलले दुध क्षेत्रका बारेमा मन्त्री तथा मन्त्रालयलाई सुझाव दिनका लागि बोलाइएको बताए ।
डिडिसीमा लक्ष्य अनुसार महाप्रबन्धक झाले काम नगरेको बताउँदै उनले २०७७ देखि मन्त्रालयले पटक पटक दिएको निर्देशन पालन नगरेको, किसानको बक्यौता रकम भुक्तानी गर्न नसकेको, आख्तियारलगायत विभिन्न निकायमा उहाँको विरुद्ध उजुरी परेका कारण मन्त्रालयमा विज्ञका रूपमा कामकाज गर्नका लागि झिकाइएको बताए ।
यता महाप्रबन्धक झाले आफूसँग मन्त्री र मन्त्रीको सचिवालयले राजनीतिक प्रतिशोध लिएको दाबी गरे । उनले भने , “मन्त्रालयले हालै डिडिसीको बोर्ड अध्यक्षमा नियुक्त गरेको बेदबहादुर क्षेत्रीले त्यहाँ (डिडिसी) कार्यकारी भूमिकामा आउन खोज्नुभएको छ त्यही भएर यी सबै लफडा भएको हो ।” आफूविरुद्ध अध्यक्ष क्षेत्रीले त्यहाँका कर्मचारीलाई उचालेर काम गर्नमा व्यवधान उत्पन्न गरेको, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फर्जी उजुरी दिन लगाएको अरोप लगाउँदै महाप्रबन्धक झाले मन्त्री डा. बेदुराम भुसालसँग मिलेर आफूलाई हटाउने षड्यन्त्र गरेको दाबी गरे ।
उनले भने , “बेदबहादुर क्षेत्री यसअघि पनि बोर्डमा विज्ञका रूपमा आउनुभएको थियो तर त्यस अनुसारको केही काम गर्नुभएन त्यतिकै समय गुजारेर जानुभयो अहिले अध्यक्ष बनेर आएपछि कार्यकारीको भूमिका खोज्नुभएको छ, मसँग आर्थिक लाभ लिन पनि खोज्नुभएको छ, पटक पटक मसँग रकम माग्नुभयो तर मैले दिन इन्कार गरेपछि यी सब षड्यन्त्र सुरु भएको हो ।” महाप्रबन्धक झाको समयावधि दुई महिना मात्र बाँकी छ ।
दुई महिनाका लागि आफू मन्त्रालय नजाने बताउँदै महाप्रबन्धक झाले भने, “यदि मलाई विज्ञकै रूपमा बोलाउने कुरा थियो भने त्यही अनुसारको बेहोरा लेख्नुपथ्र्यो, विज्ञका रूपमा कामकाज गर्ने भनी उल्लेख छ तर त्यहाँ ममाथि विभिन्न आरोप पनि लगाइएको छ, जुन पूरै निराधार रहको छ तैपनि मलाई त्यहाँ झिकाउन खोजिएको छ, त्यही भएर म त्यहाँ जाँदिन बरु कानुनी उपचार खोज्छु ।”





