बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका–४ पिपलकोटमा आजदेखि केदार सांस्कृतिक महोत्सव तथा व्यापार मेला सुरु भएको छ ।
बृहत् कृषि, पर्यटन स्वास्थ्य शिविरसहित सांस्कृतिक महोत्सव र व्यापार मेला सुरु भएको आयोजक केदार संस्कृति संरक्षण समाजका अध्यक्ष सुरेन्द्रप्रसाद भट्टले बताए । संस्कृतिको संरक्षण गर्ने र स्थानीय बजारको विकासका लागि मेलाको आयोजना गरिएको अध्यक्ष भट्टले बताए । सांस्कृतिक महोत्सव तथा व्यापार मेलाको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले उद्घाटन गरेका हुन् । त्यस अवसरमा मन्त्री साउदले भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा पक्की पुल बन्ने आश्वासन दिए। आगामी माघ २ गतेसम्म सञ्चालन हुने सांस्कृतिक महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको सहभागिता छ । महोत्सव तथा व्यापार मेलामा विभिन्न स्वास्थ्य शिविर सञ्चालन हुनुका साथै स्थानीय उत्पादनको बिक्री वितरणका लागि स्टल राखिएका छन् ।
यही पुस २८ र २९ गते गेटा आँखा अस्पतालसँगको सहकार्यमा आँखाका बिरामीका लागि शल्यक्रियासहितको शिविर सञ्चालन हुने अध्यक्ष भट्टले बताए ।





