उखु किसानको सत्र करोड भुक्तानी

२०८० पुष २९, आईतवार

सर्लाही : तीन साता अघिदेखि उखु क्रसिङ सुरु गरेको इन्दु शङ्कर चिनी उद्योग हरिवनले किसानलाई १७ करोड रुपियाँ भुक्तानी गरेको छ ।

उद्योगले नेपाल सरकारले निर्धारण गरेको उखुको मूल्य अनुसार किसानलाई १७ करोड सात लाख रुपियाँ भुक्तानी दिइसकेको उद्योगका प्रशासकीय प्रमुख ठाकुर नेपालले जानकारी दिए । सरकारले यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपियाँ निर्धारण गरी चिनी उद्योगले ५६५ रुपियाँ र सरकारले अनुदानबापत ७० रुपियाँ उपलब्ध गराउने उल्लेख गरेको छ ।

बर्सेनि बेलैमा उखु किसानलाई भुक्तानी दिने छवि बनाएको इन्दु शङ्करले यो वर्ष पनि १० दिनदेखि दुई हप्ताको अन्तरालमा उखु किसानको खातामै पैसा हालिदिएको हो । इन्दु शङ्करले पुस ६ गतेदेखि उखु क्रसिङ सुरु गरेको थियो । उद्योगले अहिलेसम्म सात लाख ६४ हजार ७०० क्विन्टल उखु क्रसिङ गरेको प्रशासकीय प्रमुख नेपालले बताए । उनका अनुसार उद्योगले यो वर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । उखु किसानको आन्दोलनका कारण केही समय ढिलो गरी उद्योग सञ्चालन भयो । किसानले अहिले उद्योगबाट चलान पुर्जी (उखु ल्याउने अनुमति पत्र) लिएर धमाधम मिलमा उखु ल्याइरहेका छन् ।

पूर्व–पश्चिम राजमार्गसहित भित्री सडकमा जताततै उखु बोकेका टायर गाढा, ट्याक्टर र ट्रक देखिन्छन् । जिल्लाका तीन वटा चिनी उद्योगमध्ये इन्दु शङ्कर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदह सञ्चालनमा भए पनि अन्नपूर्ण चिनी उद्योग धन कौल यो वर्ष अहिलेसम्म सञ्चालनमा आएको छैन ।

उखु किसान महासङ्घ गोडैताका अध्यक्ष एवं गोडैत नगरपालिकाका प्रमुख देवेन्द्र यादवले आफ्नो नगरपालिकाभित्र रहेको महालक्ष्मी चिनी उद्योग बगदहले पनि यो वर्ष उखु किसानको भुक्तानीमा धेरै सुधार गरेको बताए । धमाधम उखु क्रसिङ गरिरहेको उद्योगबाट १० देखि १५ दिनको अन्तरालमा भुक्तानी पाइरहेको भन्दै उनले खुसी व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार