कालापानीलाई बेस क्याम्प बनाइने

२०८० पुष २९, आईतवार

दोलखा : सैलुङ डाँडालाई पर्यटकीय स्थल बनाउन सैलुङ गाउँपालिका–८ मा अवस्थित कालापानीलाई बेस क्याम्प बनाउन लागिएको छ । समुद्र सतहदेखि तीन हजार मिटरमा उचाइमा रहेको शैलुङडाँडालाई पर्यटकहरू लक्षित गरी कालापानीलाई बेस क्याम्प बनाइन लागिएको गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठले बताए।

उनका अनुसार यो स्थान जिल्लाको अग्लो भू–भाग र पर्यटकीय स्थल समेत भएकाले पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । अझ पर्यटक भित्र्याउन यहाँ विभिन्न संरचनाहरू निर्माण गर्न लागिएको छ । पर्यटकहरूलाई सेवा सुविधाका लागि होटेल, गोलघरलगायतका संरचनाहरू निर्माणाधीन अवस्थामा रहेका छन् । केही समयमा नै यी संरचनाहरू सञ्चालनमा ल्याइने छन् ।

बागमती प्रदेशको साढे दुई करोड लगानीमा गोलघर निर्माण भइरहेको छ । तीन ढलानमा निर्माणाधीन गोलघरमा मिटिङ हलसहित १३ वटा कोठा रहेका गाउँपालिकाका इन्जिनियर कमल थापा मगरले जानकारी दिए । यहाँ २० वटा होटेल निर्माण हुने लक्ष्य अनुसार तीन वटा बनेर सञ्चालनमा आइसकेका छन् । इन्जिनियर थापा मगरले भने , यहाँ सौन्दर्य समेत बनाउन ५० लाख रुपियाँमा बुद्ध पार्क निर्माण भएको छ । ५७ लाख रुपियाँमा बौद्ध स्तूपा ( छोर्तेन ) निर्माण भएको छ ।

पर्यटकलाई सैलुङ जान सहजताका लागि सङ्घीय सरकारको साझेदारीमा ५४ लाख रुपियाँमा पैदल मार्ग निर्माण भइसकेको छ । उनले भने, कालीपनादेखि सैलुङसम्म ७७० मिटरमा तीन मिटर अग्लो, चार मिटर चौडाइको एक मिटर अग्लो बार रहेको मिनीग्रेटवाल निर्माण अन्तिम चरणमा पुगेको छ । पर्यटन पूर्वाधार विकास र पालिकाको साझेदारीमा पाँच करोड ३० लाख लगानी भएको छ ।

शैलुङडाँडामा दुई करोड रुपियाँ लगानीमा ४५ फिट अग्लो छोर्तेन निर्माणाधीन अवस्थामा रहेको छ । सैलुङ, मेलुङ र रामेछापको दोरम्बा गाउँपालिकाले २०÷२० हजार रुपियाँ लगानी गरेका छन् भने बाँकी रकम व्यक्ति, सङ्घ संस्थाहरूबाट आर्थिक सहयोग जुट्दै गरेको जानकारी दिँदै इन्जिनियर थापा मगरले भने, पर्यटकहरूलाई सुविधाका लागि गाउँपालिकाले फ्री वाइफाइको व्यवस्था समेत गरिदिएको छ । गाउँपालिकाले सोही स्थानमा साढे दुई केजीको घण्टी जडान गरिसकेको छ । कालापानीसम्म पुग्न गाउँपालिकाले सडक व्यवस्थित गरिसकेको छ ।

गाउँपालिका १२८.६७ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । जिल्लाको एक ऐतिहासिक, धार्मिक, सास्कृतिक र पयर्टकीय महत्त्व बोकेको गाउँपालिकामा १७ हजार ९९३ जनसङ्ख्या रहेको छ । गाउँपालिकामा जनजातीय बाहुल्यता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार