गोरखाबाट पठाइयो गोरखपुरमा ‘खिचडी’

२०८० पुष २९, आईतवार

गोरखा : करिब २० वर्षदेखि रोकिएको भारतको गोरखपुरमा खिचडी पठाउने परम्परालाई यस वर्षदेखि निरन्तरता दिइएको छ । आइतबार बिहान गोरखाबाट भारतको गोरखपुरको गोरखक्षनाथ मन्दिरमा खिचडी पठाइएको हो ।

गोरखपुरमा रहेको गोरक्षनाथ मन्दिरमा अर्पण गर्न गोरखाबाट गोरखपुरसम्म ‘खिचडी’ सहितको यात्रा सुरु गरिएको छ । माघ १ गते(सोमबार) बाट गोरखपुरमा सुरु हुने ‘खिचडी’ जात्राअघि गोरखाबाट पुगेको खिचडी चढाउने प्रचलन रहेको गोरखा नगरपालिका–९ का स्थानीय तथा गोरखनाथ आश्रमका अध्यक्ष होमसिं बस्न्यातले बताए ।

‘तान्त्रिक विधिपूर्वक पूजा गरी गोरखाको गोरखनाथबाट खिचडी सहितको यात्रा सुरु गरेका छौं,’ उनले भने । आइतबार बिहान गोरखाबाट पञ्चेबाजासहित खिचडी लिएर गोरखपुरको यात्रा सुरु भएको छ ।

‘१७ औं शताब्दीबाट यो परम्परा सुरु भएको पनि बुझिन्छ, राजतन्त्र हुँदासम्म खिचडी पठाउने प्रचलन दरबारबाट हुन्थ्यो, पछिल्ला केही वर्षदेखि रोकिएको थियो,’ उनले भने, ‘यो धार्मिक परम्परा हो, अब यसलाई निरन्तरता दिन्छौँ ।’

यो परम्पराको निरन्तरताले गोरखपुर र गोरखा नगरपालिकाबीच पनि सम्बन्ध स्थापित हुने उनले बताए । ‘सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने विश्वास लिएका छौँ,’ उनले भने । मकर संक्रान्तिका दिन ब्रम्हमुहुर्तको समयमा खिचडी चढाएपछि प्रसादको रुपमा बाँड्ने प्रचलन पनि रहेको उनले सुनाए । कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार