रामधुनी मन्दिरको रूप फेरिँदै

२०८० माघ ४, बिहीबार

वराहक्षेत्र : रामको पाउ स्पर्श भएको रामधुनी मन्दिरको विकासमा स्थानीय र केन्द्रीय सरकारले पहल गरिदिँदा मन्दिरको मुहार फेरिएको छ । मन्दिरको विकासका लागि सङ्घीय सरकार र रामधुनी नगरपालिकाले रकम छुट्याएपछि यस क्षेत्रको विकासमा सहयोग पुगेको रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले बताए।

हिन्दु धर्मावलम्बीको विशेष महŒव र अस्तित्व बोकेको धार्मिक पौराणिक ऐतिहासिक धरोहरका रूपमा परिचित मन्दिर परिसरमा ब्लक लगाउने कामदेखि कमलकुण्ड पोखरीको स्टिलको रेलिङ, प्रवेशद्वार र घेराबार लगाएपछि मन्दिर परिसरको रूप फेरिएको छ । रामधुनी परिसरमा राम दरबारसमेत निर्माण भइरहेको छ । मन्दिर परिसर क्षेत्रमा सन्त महात्माको सहयोगमा मन्दिर र आश्रमसमेत बनेका छन् । मन्दिर व्यवस्थापन अध्यक्ष डिल्ली कार्कीले भने, “मन्दिर परिसरमा उदासी सम्प्रदायले मान्ने वनखण्डी मन्दिर निर्माण भइसकेको छ ।”

भारतको पन्जाबबाट आएका नेपालीभाषी श्री श्री १०८ गोपाल मुनिले श्री रामधुनी मन्दिर परिसर क्षेत्रमा विभिन्न देवताको आधा दर्जन मन्दिर निर्माण गरेका छन् । उनले वनखण्डी मन्दिर, शिवालय मन्दिर, राम मन्दिर, शनि मन्दिर निर्माण गरेका हुन् । मन्दिर परिसरमा गोपाल मुनिले आफ्नै लगानीमा मठमन्दिर र आश्रम निर्माण गरेपछि मन्दिर परिसर मन्दिरैमन्दिरले भरिभराउ भएको छ ।

परिसरमा अष्ट चिरञ्जीवीको मन्दिर र श्रीयन्त्रको मन्दिर पनि भक्तजनको सहयोगमा निर्माण भइसकेको रामधुनी बाबा वनखण्डी मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष रामप्रकाश कोइरालाले बताए । रामधुनीमा एक सयभन्दा बढी स्थानीय गाई पालिएको छ । सुनसरीको रामधुनी र वराहक्षेत्र नगरपालिकाको सीमा जङ्गलको बिच भागमा अवस्थित मन्दिर हिन्दु धर्मावलम्बीको पौराणिक मन्दिर हो । त्रेता युगमा रामचन्द्र यस तपोवनको पुण्यस्थलमा वनबासका क्रममा धुनी बालेर एक रात बास बसेको र बसेको स्थान छाडी हिँड्दा आफ्ना पाउका एक जोर खराउ छाडी गएको भन्ने कथन रहेको मन्दिर व्यवस्थापन समितिका सदस्य गणेश कार्कीले बताए । सरोकारवालाको चासो बढेसँगै ओझेलमा परेको मन्दिरको मुहार फेरिने क्रममा रहेकोे मन्दिर व्यवस्थापन समितिका सचिव राम कोइरालाले बताए ।  रामनवमी विवाहपञ्चमी, ऋषिपञ्चमी, शिवरात्रि, तिज आदि पर्वमा नेपालका विभिन्न स्थान र भारतबाट समेत श्रद्धालु भक्तजन आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार