काठमाडौँ : राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौँको क्षेत्रपाटीबाट स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा व्यवसायी नरेश अग्रवाल र उनका सहयोगी रहेका विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए। “राजस्व अनुसन्धान विभागको टोलीले करिब दुई करोड ३० लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ,” उनले भने।
व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान छापा मारेपछि उक्त रकम फेला परेको बताइएको छ। बरामद गरिएको रकम हुन्डी कारोबारको हुनसक्ने अनुमान गरिएको छ। पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेर हिरासतमा राखिने महानिर्देशक ढुंगानाले बताए।





