राष्ट्रिय गौरवका आयोजनाको छनौटमा नै पुनर्विचार गर्नुपर्छ : ऊर्जामन्त्री बस्नेत

२०८० माघ ५, शुक्रबार

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवको आयोजनाहरुको छनौटका लागि निश्चित मापदण्ड बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय गौरवको आयोजनाहरु अघि बढ्न नसकिरहेका बेला ऊर्जामन्त्री बस्नेतले निश्चित मापदण्ड तय गरेर मात्रै त्यस्ता आयोजनाहरुको छनौट गर्न उपयुक्त हुने बताए ।

शुक्रबार संघीय संसदको राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय गौरवका आयोजनाहरुको समग्र पक्षमा नै पुनर्विचार गर्नुपर्ने बेला आएको पनि बताए । मन्त्री बस्नेतले राष्ट्रिय गौरवका आयोजना प्रमुखहरुलाई सरुवा गर्ने सरकारको कुनै मनसाय नरहेको बताए । उनले राष्ट्रिय गौरवका आयोजनाका प्रमुखहरुले सरुवा माग्दा पनि आफूले त्यही बसेर काम गर्न अनुरोध गर्ने गरेको बताए ।

बैठकमा बोल्दै समितिका सदस्यहरुले राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई महत्व नदिएको भन्दै सरकारको आलोचना गरेका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद इन्दु कडरीयाले राष्ट्रिय गौरवको भनेर घोषणा गरिएका आयोजनाहरुको काम अलपत्र पार्ने काम सरकारबाटै भइरहेको आरोप लगाएकी थिइन् ।

‘राष्ट्रिय गौरवको आयोजना भनिएको छ । वर्षौंसम्म अलपत्र पारिएको छ । वर्षौसम्म राष्ट्रिय गौरवको आयोजना बन्दैन । यसलाई बढी महत्व दिएर समयमै सक्ने काम होस्,’ उनले भनिन्, ‘अर्को राष्ट्रिय गौरवको आयोजना भनेर घोषणा गरिएको छ । अनि काम नै सुरु हुदैन भने त्यस्तो गौरवको आयोजना घोषणाको के अर्थ ?’

बैठकमा सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद गोपीबहादुर आछामीले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न हुने गरी स्रोत, साधन र जनशक्ति परिचालनमा ध्यान दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले देशलाई समृद्धि बनाउने भन्दा पनि कमजोर पार्ने गरी राष्ट्रिय गौरवको आयोजनाहरु अघि बढाइएको आरोप लगाए ।

‘राष्ट्रिय गौरवका आयोजनाहरु देशको समृद्धिसँग अन्तरबिरोधीजस्तो महशुस हुन्छ । लागत बढिराखेको छ । खेती गर्ने युवा विदेश पलायन भइराखेका छन् । जमिन टुक्रिराखेको छ,’ उनले भने, ‘यता राष्ट्रिय गौरवको आयोजनाहरुको अवधि लम्बिराखेको छ भनेपछि यसले विकासको गति लिन्छ कि लिन्नँ ?’ बैठकमा सांसदहरुले राष्ट्रिय गौरवको आयोजनामा बजेट अभाव हुन नदिनका लागि आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार