काठमाडौँ : बिहीबार निधन भएका गायक तथा सङ्गीतकार योगेश वैद्यको शव शुक्रवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि कार्यक्रममा परिवार तथा सङ्गीतकर्मीको उपस्थिति रहेको थियो । शवलाई उनका छोरा लोकस नन्दन वैद्यले दागबत्ती दिए ।
पशुपति आर्यघाटमा अन्त्येष्टि अगाडि उनको शवलाई नेपाल सङ्गीतकार संघले नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखेको थियो । सोही क्रममा विशिष्ट सङ्गीतकार शम्भुजित बास्कोटा, सङ्गीतकार चेतन सापकोटा, वसन्त सापकोटा, महेश खड्का, मिलन मोक्तान लगायत थुप्रै संगीतकर्मीले फूलमाला समर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
‘सपना भुलाई सारा’, ‘मेरो आँसुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ लगायत थुप्रै लोकप्रिय गीत दिएका ७७ वर्षीय वैद्यको बिहीबार राति साढे १२ बजे काठमाडौँको सुन्धारास्थित भ्याली अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए । उनले नेपाल भाषाका समेत गीत गाएका छन् ।





