काठमाडौं : चालु आर्थिक वर्षकोको पाँच महिनामा तीन अर्ब बराबरको ग्यास आयातमा कमी आएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि मङ्सिरसम्म तीन अर्ब बराबरको ग्यास आयातमा कमी आएको हो ।
चालुु आवको पाँच महिनामा २० अर्ब ६५ करोड ५८ लाख ३० हजार रुपियाँ बराबरको ग्यास आयात भएको छ । गत वर्ष सो अवधिमा २३ अर्ब ७५ करोड ८६ लाख ३८ हजार रुपियाँ बराबरको ग्यास आयात भएको थियो । अघिल्लो वर्षको तुुलनामा तीन अर्ब १० करोड रुपियाँ बराबरको ग्यास आयातमा कमी भएको तथ्यांकले देखाएको छ ।
ग्यासको खपत घटेसँगै आयातमा कमी आएको हो । हाल बजारमा मासिक ४२ हजार मेट्रिक टन ग्यासको खपत हुने गर्छ । विगतका वर्षमा चिसो मौसममा ग्यासको खपत बढ्ने गरेको भए पनि यस वर्ष भने चिसो मौसम सुरु भए पनि बजारमा खाना पकाउने एलपी ग्यासको खपत भने बढ्न सकेको छैन ।
चालु : आवको साउन महिनादेखि नै ग्यासको खपतमा गिरावट हुँदै आएको छ । निगमका अनुसार विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आवमा पाँच प्रतिशतले खपत घटेको छ । पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन)को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको देखिन्छ ।
निगमका अनुसार आव २०७९/८० मा ५३ अर्ब रुपियाँ बराबरको पाँच लाख १२ हजार मेट्रिक टन ग्यास आयात भएको थियो । आव २०७८/७९ मा ६१ अर्ब रुपियाँ बराबरको पाँच लाख ३६ हजार ६९८ मेट्रिक टन ग्यास आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा आठ अर्ब बराबरको ग्यास आयात कम भएको छ ।





