६ दिने उपकुलपतिको मनपरी, एकैदिन गरे ५ कर्मचारी सरुवा

२०८० माघ ११, बिहीबार

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका तीन महिने उपकुलपति प्राडा शिवलाल भुसालले केही उच्च तहका बाहेक अधिकांश तल्लो तहका कर्मचारी सरुवा गरेका छन्। माओवादी केन्द्रबाट रेक्टर भएका प्रा.डा भुसाललाई त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कातिक १७ गते ३ महिनाका लागि उपकुलपतिमा नियुक्त गरेका थिए।

नियुक्ति भएको एक महिना बित्न नपाउँदै उपकुलपति प्राडा भुसालले त्रिवि कार्यकारी परिषद्को सचिव विष्णु अर्याललाई सरुवा गरी शिक्षण अस्पतालका प्रमुख बैकुण्ठप्रसाद थपलिया ल्याएका छन्। शिक्षक नियुक्ति तथा बढुवासम्बन्धि कार्यबिधि–२०८० संशोधन गर्न महत्वपूर्ण भूमिका खेल्नुभएका अर्यालको सरुवा गर्न लागेको बुझिएको छ। अर्यालको नेतृत्वमा कार्यविधि तयार भएको थियो। उपकुलपति भुसाल ‘एस म्यान’लाई कार्यकारी सचिव पदमा सरुवा गरेर कार्यविधि परिवर्तन गर्ने तयारीमा छन्।

कार्यविधिमा उप–प्राध्यापकबाट सह–प्राध्यापक र सहबाट उप–प्राध्यापकमा बढुवा हुन आवश्यक अनुसन्धान, तोकिएको अवधिसम्म पढाएको विषयलाई कडा पारिएकाले बढुवा हुने लाइनमा रहेका उप–प्राध्यापक र प्राध्यापकले कार्यविधि परिवर्तन गर्न उपकुलपति भुसाललाई दबाब दिइरहेका छन्। राम्रोभन्दा पनि हाम्रोलाई बढुवा गर्न कार्यकारी परिषद्को सचिव नै परिवर्तन गर्ने अन्तिम तयारी भइरहेको टिप्पणी गर्दै उच्च स्रोतले भन्यो– ‘सायद ५ दिनभित्र सो निर्णय गर्नुहुनेछ।

हिजो बुधबार रजिस्ट्रारबाट टिप्पणी उठ्ने कुरा थियो, समाचार प्रकाशित भएपछि केही दिनलाई सारिएको छ ।’ तीन महिने उपकुलपति भुसालको कार्यकाल यही १७ गते सकिदैछ। कार्यविधि नै परिवर्तन गर्ने तयारीमा रहेका उपकुपति प्रा.डा भुसालले करिब दुई महिनाअघि राजिनामा दिइसक्नु भएका थपलियाको राजीनामा स्वीकृत नगरी शिक्षण अस्पतालबाट कार्यकारी परिषद् सचिवालयमा सरुवा गर्न लाग्नुभएको हो। राजीनामा दिएका वरिष्ठ कर्मचारीको राजीनामा स्वीकृत गर्न उपकुलपतिलाई दबाब आए पनि उनले चाहेका छैनन् ।

सरुवाको विषयमा समाचार प्रकाशित गरेपछि उपकुलपति प्रा.डा भुसालले त्रिवि कर्मचारी संघका अध्यक्ष छत्र कार्कीसँग असन्तुष्टि प्रकट गरेका थिए। संघका अध्यक्ष कार्कीले उपकुलपति प्रा.डा भुसालसँग भएको कुराकानीबारे जानकारी गराउँदै भने– ‘म र केही कर्मचारीसँग टेलिफोन गरी असन्तुष्टी पोखेका छन्।

उनले ‘तपाइँ र हाम्रो कुराकानी हुँदै थियो सञ्चारमाध्यममा समाचार आयो, यो त ठिक भएन नि भनेर भने।’ उपकुलपति भुसालले आफूसँग भएको त्रिभुवन विश्वविद्यालयका करिब ७ हजार कर्मचारीका प्रतिनिधित्व गर्दै अध्यक्ष निर्वाचत भएका कार्कीलाई हप्काएपछि उनले उपकुलपतिलाई ‘कर्मचारी तपाइँको रबर स्ट्याप्प होइन नि ?’ भनी जवाफ फर्काएका थिए।

समाचार प्रकाशित भएपछि उपकुलपति प्रा.डा भुसालले कर्मचारी सरुवा गर्ने हैसियत आफ्नो नभएको बताएका थिए। तर, सबै कर्मचारी सरुवा गर्नुअघि उपकुलपतिकै सहमति लिनुपर्छ। उपकुलपतिकै निर्देशनमा पुस र माघ महिनामा अघिकांश तल्लो तहका कर्मचारीको सरुवा गरिएको छ। सरुवामा उपकुलपतिको प्रत्यक्ष हात रहने कर्मचारीको भनाइ छ। त्रिविले पुस र माघ महिनामा दुई मुख्य सहायकसहित ७ जना कार्यालय सहयोगी र ४ जना कार्यालय सहायक सरुवा गरेको छ।

सो विषयमा जानकारी लिन खोज्दा उपकुलपति भुसालले मोबाइल फोन उठाउनु भएन। उपकुलपति प्राडा भुसालले तत्कालीन शिक्षाध्यक्ष पेशल दाहालको कार्यकाल सकिनासाथ सरुवा गरेको स्रोतको भनाई छ। त्रिविले पुस २० गते एकैदिन ५ जना कर्मचारीको सरुवा भएको थियो। उक्त दिन सरुवा हुनेहरूमा सावित्री थापा, अर्जुन बस्नेत, बिन्दु खत्री, सिताराम घिमिरे र कृष्ण कार्की रहेका छन्। पुस र माघमा सरुवा हुने अन्य कर्मचारीहरूमा मुख्य लेखा सहायक धर्मराज शाही, कार्यालय सहयोगी मच्छिन्द्र खतिवडा र फुर्वा दोर्जे लामा रहेका छन्।

त्यस्तै, लेखा सहायक बुधन मुखिया, कार्यालय सहायक शान्ता मुखिया, कार्यालय सहयोगीद्वय सहदेव खत्री र पुण्यराम ख्वालापाला र मुख्य लेखा सहायक पुण्यप्रसाद आचार्यको सरुवा गरिएको थियो। यसअघि त्रिवि कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकाल सकिनै लागेका र निमित्तको जिम्मेवारी पाएका अन्य विश्वविद्यालयका पदाधिकारीलाई दैनिक कार्यसञ्चालनबाहेक अन्य दूरगामी र भविष्यमा असरपर्ने महत्वपूर्ण सरुवालगायत कुनै पनि निर्णय नगर्न निर्देशन दिएका थिए।

तर, त्रिविको उपकुलपतिको दौडमा दरखास्त दिनुभएका प्राडा भुसालले निमित्त शिक्षाध्यक्ष प्रा. भार्गब धिताल र निमित्त रजिस्ट्रार डा. कृष्णप्रसाद बस्यालको साथ लिएर धमाधम कर्मचारी सरुवा गरेका छन्। कार्तिक १७ गते नियुक्त हुनुभएका उपकुलपति प्राडा भुसालको ३ महिने कार्यकाल यही १७ गतेबाट सकिँदै छ।नेपाल समाचारपत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार