काभ्रे : काभ्रेको पनौती नगरपालिका-५ स्थित आइटी पार्क निजिकैबाट २८५ किलोग्राम गाँजा बरामद गरिएको छ । सोमबार बिहान साढे ८ बजे पनौती-बनेपा सडकखण्डमा प्रहरीले सवारी जाँच गर्ने क्रममा पनौतीबाट बनेपा तर्फ जाँदै गरेको बा ६ च २९६ नम्बरको डीआइ गाडीबाट २८५ केजी गाँजा बरामद गरेको हो ।
उक्त गाडीमा लोड गरी ल्याइएको अप्रशोधित गाँजा ( भर्खर काटेको जस्तो हरियो देखिने ) प्लाष्टिकको विभिन्न आकारका ७३ बोरामा २८५ केजी गाँजा, गाडीसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार प्रहरीले सवारी चालक नुवाकोट, विदुर नगरपालिका-११ का ३५ वर्षीय बुद्धमान तामाङ, रामेछाप, रामेछाप नगरपालिका-८ का २० वर्षीय सञ्जीव तामाङ र ५३ वर्षीया विमला तामाङलाई नियन्त्रणमा लिइएको छ । यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





