काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार प्रधानमन्त्री प्रचण्डलाई ४० बुँदे मागपत्र पेस गर्न लागेको छ। मागपत्र बुझाउनुअघि राजधानीको भृकुटीमण्डपबाट दबाबमुलक र्याली सुरु गरेर भद्रकाली, सुन्धारा, रत्नपार्क हुँदै फेरि भृकुटीमण्डप पुगेर सभा गर्ने जनाइएको छ।
त्यसपछि अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा साढे १ बजे सिंहदरबारमा पुगेर प्रधानमन्त्रीलाई मागपत्र बुझाउने कार्यक्रम रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। उनका अनुसार संवैधानिक राजसंस्था र पूर्ण धार्मिक स्वतन्त्रसहितको हिन्दु अधिराज्य हुनुपर्ने, धर्मान्तरणमा तत्काल रोक लगाउनुपर्ने, प्रदेशको खारेजी र दुई तहको सरकार हुनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने, कार्यकारी पदमा दुई कार्यकाल भन्दा बढी हुन नहुनेलगायत विषय ४० बुँदेमा छ।
यस्तै बढ्दो भ्रष्टाचारको विषयदेखि बैंकदेखि वित्तीय संस्थाको मनपरीमाथि हुनुपर्ने लगायतका विषय पनि उल्लेख छ। राप्रपाको पूर्वनिर्णय अनुसार बुधबार नै सबै जिल्लाबाट पनि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने छ। साथसाथै आफ्नो मागबारे दबाबमूलक प्रदर्शन गर्ने पनि कार्यक्रम रहेको छ। राप्रपाले सरकारले आफ्नो मागबारे कुनै सुनुवाइ नगरेमा चैतदेखि आन्दोलन गर्ने तयारी गरेको छ। त्यसअघि सहर केन्द्रित दबाबमूलक कार्यक्रमहरू हुने जनाइएको छ।