काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारमा मुछिएका नेता, कार्यकर्ताहरुलाई पार्टीको वरिपरी राख्नु नहुने बताएका छन्।
बिहीबार महासमिति बैठकको समापन सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले भ्रष्टाचारमा मुछिएका काँग्रेसका नेता, कार्यकर्ताहरुलाई पार्टीको वरिपरि राख्नु नहुने बताएका हुन्। ‘काम गर्न नसक्ने वडाअध्यक्षलाई १० वर्ष घर बसाउनु पर्छ। यसो गर्न सकेमा मात्र काँग्रेसको शक्ति बढ्छ।’ उनले भने। ०४६ साल पछाडी सार्वजनिक जिवनमा बसेको मान्छेको सम्पत्ति छानविन गर्नुपर्ने पनि उनको भनाइ थियो। ‘आफूमा लागेको दाग मेटाएर पार्टीलाई बलियो बनाउन सकेमा सहकारी ठग्ने, जग्गा किर्ते गर्ने र नागरिकता किर्ते गर्नेहरुलाई कारबाही गर्न सकिन्छ’ उनले भने।
उनले थपे ‘हामी अहिले सरकारमा छौँ। सरकारमा भएर यसरी राम्रोसँग काम गरौँ। जसको कारणले गर्दा अर्को सरकारको बारेमा चिन्ता गर्नु नपरोस्। आम नागरिकहरु आज सरकारसँग सुशासन र डेलिभरीको कुरा खोजिरहेका छन्। भ्रष्टाचारीहरु एउटा पनि नउम्कियोस्। ठूलो माछाहरु समातियोस्। यसको निम्ति कानुन बनोस्। बनेको कानून बदल्नुपर्छ भने बदलियोस्।’
उनले काँग्रेस सरकारमा रहेकाले जनतालाई सुशासन र डेलिभरी दिन सक्नुपर्ने बताए।