तरुण दलका सदस्य गिरीलाई गोली हान्ने चार जना प्रहरीद्वारा सार्वजनिक

२०८० फाल्गुन १३, आईतवार

सुर्खेत : जिल्लाकाे वीरेन्द्रनगर नगरपालिका-१ गैरी चोकमा गोली प्रहार गर्नेहरुलाई प्रहरीले सार्वजनिक गरेको छ ।

नेपाल तरुण दलका सदस्य विनोद गिरीलाई लक्षित गरेर गोली हान्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार सार्वजनिक गरेको हो ।पकाउ पर्नेहरुमा कैलालीकाे गौरीगंगा नगरपालिका- २ का १८ वर्षीय ईन्द्र बिक, १८ वर्षीय भरत भुल, वीरेन्द्रनगर नगरपालिका- ४ का ३७ वर्षीय राजन गिरी र भारत उत्तर प्रदेश बिजनौर जिल्ला दादानगरगञ्ज जोसिपनका मोहल्लाका १९ वर्षीय रोहित राजपुत रहेका छन् । घटनामा संलग्न थप दुई जना फरार छन् । उनीहरुकाे खाेजी भइरहेकाे सुर्खेत प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार गाेली प्रहार गर्ने योजनाअनुरुप गिरीबाहेक तीन जना फागुन ७ गते वीरेन्द्रनगर नगरपालिका-४ स्थित गणेश होटेलमा बास बसेका थिए । फरार दुई व्यक्तिले भे ५ प ६०६१ नम्बरको मोटरसाइकल उपलब्ध गराई पूर्वयोजनाअनुसार नेपालगञ्जदेखि सुर्खेत आएर गणेश होटलमा ३ जना सँगै बसेका थिए । एक जना शंकित व्यक्तिले प्रतिवादीहरुलाई विनोद गिरीको घर ठेगानालगायत सबै देखाइ चिनाइदिएको तथा होटलमा खाने व्यवस्था मिलाएको प्रहरीले बताएको छ ।

गएराति विनोद गिरीको गाडीलाई प्रतिवादीहरुको मोटरसाइकलले पिछा गरी वीरेन्द्रनगर नगरपालिका-१ स्थित गैरीचोकमा उनीमाथि १ राउण्ड गोली प्रहार गरेपश्चात उक्त गाडी र मोटरसाइकल एकापसमा ठक्कर खाइ दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । गोली प्रहार गर्ने भारतीय नागरिक राजपूत, मोटरसाइकल चालक विक, भुल र होटलमा बस्ने व्यवस्थापन गर्ने गिरीलाई नियन्त्रण लिएर सार्वजनिक गरेको हो ।

घटना बारे थप अनुसन्धान जारी रहेको र शंकितको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार