निजगढ विस्फोट : घाइते अर्का युवकको पनि मृत्यु, २ जनाको अवस्था गम्भीर

२०८० फाल्गुन १५, मंगलवार

काठमाडौँ : बाराको निजगढमा सोमबार दिउँसो शंकास्पद वस्तु विस्फोट हुँदा मृत्यु हुनेको संख्या २ पुगेको छ। विस्फोटमा परेर गम्भीर घाइते भएका भारतीय नागरिक ३५ वर्षीय राकेश जैसवालको पनि मृत्यु भएपछि सो घटनामा मृत्यु हुनेको संख्या २ पुगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले जानकारी दिए।

भारतको गवाई घर भएका जैसवाल लेथका मिस्त्री हुन्। निजगढ नगरपालिका ७ मा रेशम मगरले सञ्चालन गर्दै आएको रोहित वर्कशप लेथमा सोमबार दिउँसो कबाडीबाट ल्याएको शंकास्पद बस्तु विस्फोट भएको थियो। विस्फोटमा गम्भीर घाइते भएका निजगढ ५ निवासी ४५ वर्षीय रेशम मगरको त्यतिबेलै मृत्यु भएको थियो। उनी लेथका सञ्चालक हुन्।

गम्भीर घाइते भएका मगरलाई उपचारको लागि बयोधा अस्पताल वीरगञ्जमा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। ‘विस्फोटमा घाइते भएका भारतीय नागरिक जैसवालको गएराति वीरगन्जस्थित बयोधा अस्पतालमै मृत्यु भएको हो,’ एसपी काफ्लेले भने विस्फोटमा परेर थप चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। उनीहरुको बयोधामै उपचार चलिरहेको छ।’

विस्फोटमा परेर निजगढ नगरपालिका ५ का ४५ वर्षीय सूर्यबहादुर थापा, पर्साको वीरगन्ज महानगरपालिका ९ घर भएका ३४ वर्षीय फिरोज देवान, वीरगन्ज ९ का २० वर्षीय रितु रजत र भारतको रामघडवा घर भएका २० वर्षीय अरविन साह घाइते भएका थिए। घाइतेमध्ये बयोधाको आईसीयूमा उपचार भइरहेका अरविन र रितुको अवस्था गम्भीर रहेको एसपी काफ्लेले बताए।

वर्कशपमा ग्राहकले ल्याएको शंकास्पद बस्तु लेथमा काट्ने क्रममा विस्फोट भएको प्रहरीले जनाएको छ। उक्त विस्फोट पदार्थ के थियो प्रहरीले अझै आधिकारिक जानकारी गराएको छैन। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको एसपी काफ्लेले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार